मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्यमा कपिलवस्तुबाट दुई नेता पर्नुभएको छ । जिल्लाको पश्चिमी क्षेत्रका क्षेत्रबहादुर क्षेत्री र मीना परियार केन्द्रीय सदस्यमा मनोनित हुनुभएको हो ।
क्षेत्री तत्कालिन नेकपाको लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो भने परियार जिल्लाको सचिवालय सदस्य रहनुभएको थियो ।
एमालेबाट राजनीति गर्दै आउनुभएका क्षेत्री ०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक विरपुर गाविसको अध्यक्ष हुनुभएको थियो । विरपुर गाविस चन्द्रौटा बजार क्षेत्र भएको स्थान हो ।
एमालेमा राष्ट्रिय परिषद सदस्य हुँदै नेकपा हुँदा लुम्बिनी प्रदेश कमिटीमा रहेर काम गर्नुभएका क्षेत्री एकीकृत समाजवादीमा होमिदै केन्द्रीय सदस्यको जिम्मेवारीमा आउनुभएको हो ।
परियार पनि एमालेको प्रभावशाली महिला नेतृ हुनुहुन्थ्यो । ०७० सालको निर्वाचनमा उहाँ तत्कालिन क्षेत्र नं. ५ मा संविधान सभा निर्वाचनमा एमालेबाट उम्मेदवार समेत बन्नुभएको थियो ।
दलित र महिला आन्दोलनको क्षेत्रमा पनि उहाँ परिचित हुनुहुन्छ । हाल नेपाल दलित जातीय मुक्ति संगठनको केन्द्रीय उप-महासचिव समेत उहाँ रहनुभएको छ । पश्चिमी क्षेत्रका विभिन्न संघ संस्थामा उहाँले नेतृत्वदायी भूमिका पनि निभाउदै आउनुभएको छ ।
यस्तै क्षेत्रीले केन्द्रीय सदस्यसंगै कपिलवस्तु इन्चार्जको जिम्मेवारी पाउनुभएको छ भने परियारले जिल्लाको सह–इन्चार्जको जिम्मेवारी पाउनुभएको छ ।
प्रतिक्रिया