१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

३ महिनाभित्र देशभर ७ लाख संगठित सदस्य बनाउने एकीकृत समाजवादीको अभियान



काठमाडौं ।
नेकपा एकीकृत समाजवादी पार्टीले देशभर ७ लाख संगठित सदस्य बनाउने अभियान थालेको छ । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार देशभर ७ लाख संगठित सदस्यहरु बनाउने लक्ष्य राखेको हो ।

अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अन्तरपार्टी निर्देशनमा एक वडामा १ सय संगठित सदस्य र १ हजार पार्टी सदस्य निर्माण गर्ने अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ । जसअनुसार एकीकृत समाजवादीले देशका ६ हजार ७ सय ४३ वडाहरुमा ६ लाख ७४ हजार ३ सय संगठित सदस्य बनाउने लक्ष्य अनुसार अभियान सञ्चालन गर्ने जनाएको छ ।

एमालेकै जस्तो ढाचा र अवधारणामा बनेको यो पार्टीले संगठित र पार्टी सदस्य गरी २ प्रकारका सदस्यको व्यवस्था विधानमा गरेको छ । जसअनुसार संगठित सदस्य पार्टीका सक्रिय कार्यकर्ता हुनेछन् भने पार्टी सदस्य समर्थक, मतदाता र सर्वसाधारण हुनेछन् ।

अन्तरपार्टी निर्देशनमा दाबी गरिए अनुसार एकीकृत समाजवादीले देशभरी ६७ लाख ४३ हजार पार्टी सदस्य बनाउन अभियान सञ्चालन गर्ने छ । पार्टीले संगठित सदस्य र पार्टी सदस्य निर्माणका लागि सबै जनसंगठनहरु, सबै पेशा र व्यवसायका जनता माझ सदस्यता वितरण अभियान प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति लिएको छ ।

एकीकृत समाजवादीले सबै जिल्ला कमिटीहरुलाई बढीमा एक महिनाभित्र पार्टी कार्यालयको स्थापना गरिसक्न, पालिका तहमा कार्यालय स्थापना गरेर कामलाई प्रभावकारी बनाउन र पार्टी कार्यालयहरुलाई नियमित र व्यवस्थित रुपमा सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८ शनिबार ००:००  ८ : २० बजे