काठमाण्डौ ।
दशैँको टीकाको आज दोस्रो दिन । हिजो अर्थात विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् ।
साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमानै सकेसम्म सबै आफन्तहरू कहाँ पुग्ने गर्दछन् । आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो नै हुने गर्दछ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ ।
आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रही आएको छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।
यस्तै काठमाण्डौको असनका स्थानीय बासिन्दाले आज मात्र विजया दशमीको टीका थाप्छन् ।
हरेक वर्ष एकादशीका दिन असनका बासिन्दाहरुले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी विजया दशमी मनाउने गर्दछन् । आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा निकालिने गरिन्छ ।
असनमा रहेको अन्नपूर्ण अजिमाको मन्दिर नजिकै रहेको आगम घरबाट दिउँसो १ बजेपछि खड्ग जात्रा निस्कने स्थानीय रोशन तुलाधरले बताउनु भयो।
प्रतिक्रिया