मायादेवी अनलाइन, चारनम्बर ।
आज नेपालीहरुको महान चाड विजया दशमी, अर्थात् दशैँको मुख्य दिन । सबैले निधारभरी अक्षता र जमरा ग्रहणगरी भव्यताका साथ दशैँ पर्व मनाउँदै छन् । नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा परेको जनाएको छ । विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने साइत छ । आज यही समयमा आफूभन्दा ठुला मानयजनको हातबाट टिका जमरा रग्रहण गरी आर्शिबाद लिने चलन छ । गत बर्ष कोरोनाको कारण उति रमाइलो नभएता पनि यष बर्ष भने कोरोना नियन्त्रणसंगै रमाइलो बढेको छ । तर किनमिल गर्ने मानिसको चहलपहल भने बजारमा कम भइसकेको छ । आज कपिलवस्तुको बाणगंगा लगायतका मुख्य स्थानहरुम्मा किनमेल गर्नेको भीँड कम देखिन्थ्यो ।
नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्वपूर्ण सकल परिवार एकै ठाउँमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेर क्रमानुसार ठूला अनि क्रमशः सानाहरूले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरू साइतको टिका लगाउन आफूभन्दा ठूला मान्यजन कहाँ जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजु–भाइकहाँ जाने गर्छन् ।
घरतर्फ टीका लगाउँदा शुभाशिषसहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरू टीका थापेपछि नयाँ, बास्नादार नोटहरू हात–हातमा लिएर हिँडेको दृश्य रमाइलै हुन्छ । ती नोटहरूमा लत्पतिएको अक्षताका रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ, केही सम्झना आयो तपाईंलाई ?
फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा–मासुका अनेकन परिकारहरू पक्कै पनि बने होलान् । गज्जबको पारिवारिक माहौलमा रमाइरहेकाहरूदेखि परिवार अनि देशलाई सम्झेर परदेशमा टीका थाप्ने तयारी गरिरहनुभएको तपाईं सबैलाई विजया दशमीको दशौँ दिन अर्थात् महादशमीको शुभकामना । नेपालका सहज शहरदेखि असहज अन्कन्टार बस्तीसमेत आज बिहानैदेखि एउटा फरक रौनकमा सजिएर ब्यस्त बनेको छ । केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता दैलो–दैलो कूदिरहेका होलान् ! के बुढा, के वृद्ध अनि के तन्नेरी, सबैलाई दसँैको उर्जायुक्त रङ्गले छोएको छ ।
यो पावन पर्व हिन्दू धर्ममा मात्र सीमित नभएर एउटा सनातन चल्दै आएको पर्व हो । यसलाई बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छ कि हिन्दूहरू रातो टीका लगाएर नव दुर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बौद्ध अनुयायीहरू सेतो टीका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।
घरको मूल टीका लगाएर सुसुराली, मामाघर या ठूल बा, दाजु अनि अन्य मान्यजन कहाँ पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टीका अनि जमरा लगाएर सपरिवार हिँडेका दृश्यले पनि हामी नेपाली पारिवारिक सौहार्द्रता र सामीप्यतामा कति विश्वास राख्छौँ भन्ने कुरालाई प्रस्ट पार्छ ।
वैदिक सनातन धर्मानुयायीहरूले दसँैको आर्शिवादलाई पौराणिक पात्रहरू र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथि अर्थात् विजया दशमीको दशौं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो, दशानन् रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषासुर नामक असूरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टीका, जमरा अनि रमाइलोको माहोल दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्वमाथि मानवताको विजयका रूपमा लिइन्छ ।
प्रतिक्रिया