९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मुगुमा बस दुर्घटना : मृतकको संख्या २८ पुग्यो (अपडेट)




सुर्खेत ।

मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ। छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा चालकसहित मृतकको संख्या २८ पुगेको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले जानकारी दिए।

उनका अनुसार घटनास्थलमा २४ जनाको मृत्यु भएको हो। चार जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मृत्यु हुनेमा १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन्।
घाइतेमध्ये १५ जनालाई नेपालगञ्ज लगिएको छ। समिट एअर र नेपाली सेनाको हेलिकप्टरमार्फत् नेपालगञ्ज उपचारका लागि लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ।

मेयर शाहीका अनुसार गाडीमा ४९ जना सवार रहेको बुझिएको छ। ३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको बुझिएको उनले बताए।

‘मृतक, घाइते र गाडीबाट हाम फालेर वा ओर्लिएर बचेकाहरूको संख्या हेर्ने हो भने गाडीमा ४९ जना सवार रहेको देखिएको छ, यद्यपि घटनास्थलको भिरमा प्रहरीले मानिसको खोजी गरिरहेको छ,’ मेयर शाहीले भने।

सुर्खेतबाट मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर मुगुमा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७८ मंगलबार ००:००  ५ : ०८ बजे