मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले चाडपर्व लक्षित बजार अनगुमन गरेको छ । नगर भित्र रहेका पसल, व्यवसाय र उद्योगमा पुगि नगरपालिकाको एक टोलीले अनुगमन गरेको हो ।
नगरको वडा नं. ५ र १० का मुख्य बजारमा पुगेर अनुगमन गर्दा म्याद गुज्रेका पेय पदार्थ, चाउचाउ विस्कुट, सुर्ति, अखाद्य पदार्थ भेटिएको नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले जनाएको छ ।
बरामद गरिएका सबै सामानलाई नगरपालिकाले नियन्त्रणमा लिएर नष्ट गरेको नगरपालकिाका उद्योग तथा सहकारी शाखाका प्रमुख विजय भुसालले जानकारी दिनुभयो ।
नगरपालिकाकी उपमेयर तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक मिरा थारुले कानुन भन्दा विपरित रहेर व्यवसाय गर्दै आएका विभिन्न पसलबाट सामान बरामद गरि नष्ट गरिएको बताउनुभयो ।
चाडपर्व लक्षित बजार अनुगमन भएपनि नगरपालिकाले आफ्नो अनुकुल मिलाएर बजार अनुगमन गर्दै आएको उहाँले बताउनुभयो । नगरका मुख्य बजारमा अनुगमन गर्दा खासै नियम विपरित काम भएको नपाइए पनि भित्रि बजारमा नसोचेको काम भएको पाइएको उहाँले बताउनुभयो । नगर भित्र पसल, व्यवसाय गर्ने आम व्यवसायीलाई उहाँले कानुनले तोके बमोजिम व्यवसाय गर्न आग्रह गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले नगरपालिकाले बजार अनुगमनको आफ्नै ऐन, कार्यविधि बनाएको बताउनुभयो । नगरभित्र सञ्चालन हुने हरेक पसल, व्यवसाय र उद्योगधन्दा कानुन अनुसार सञ्चालन हुनुपर्ने भन्दै कानुनको उल्लङ्घन गरी सामान विक्रि, वितरण गर्ने हरेक पसल कानुनी दायरामा आउने बताउनुभयो । अनुगमनका क्रममा अवस्था हेरि सचेत गराउने, चेतावनी दिने, देखि सामान बरामदसम्मको एक्सन चाल्ने गरिएको उहाँले बताउनुभयो ।
बुद्धभूमिले अनगुमनका क्रममा बरामद गरेका सामानमा सबैभन्दा बढी सूर्तीजन्य पदार्थ भेटिएको थियो । ती सूर्तीजन्य पदार्थ भन्सार छलि भारतबाट ल्याएका धेरै थिए ।
प्रतिक्रिया