९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

नवरात्रको सातौँ दिन आज फूलपाती, भित्राउने उत्तम समय चार बजेपछि



मायादेवी अनलाइन, चार नम्बर ।

वडा दशैको सातौ दिन अन्तर्गत आज फूलपाती हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्रयाउदैछन् । दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा फूलपातीको शुभसाइतका रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्रयाइन्छ । फूलपाती गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाण्डौँको जमलसम्म ल्याउने गरिन्छ ।

यो दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात् कालो वर्ण भएकी, तीन नेत्र अनि चार हात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वास फेर्दा आगो ओकल्ने यिनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पुर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् ।

आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरापात अनि विभिन्न प्रकारका फूलपात समिश्रित ‘फूलपाती’ भित्र्याइन्छ । यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

आजको यस विशेष सातौं दिन दुर्गाको सातौँ स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौडीहरु र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्रयाउने चलन छ ।

यस वर्षको फूलपाती मङ्गलबार अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम छ ।घटस्थापनाका दिनदेखि नै दशै सुरु हुने भए पनि दशैको विशेष चहलपहल भने आजैदेखि घरघरमा सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय पनि बन्द हुने छन् । आजबाट हिन्दु नेपालीहरु परिवारसँग बसेर दुर्गा भवानीको पूजा गरेर हर्सोल्सासका साथ दशै मनाउन जुट्ने भएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८ मंगलबार ००:००  ६ : ११ बजे