९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

जग्गा कब्जा गर्नेमाथि बुटवलमा प्रहरीले गोली चलायो




रुपन्देही ।

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएको छ । अहिले मोतिपुर तनावग्रस्त छ । प्रहरीले गोली चलाउँदा केही घाइते भएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली चलाएको पुष्टि गरे । उनले भने, ‘जग्गा कब्जा गर्ने र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।’ घटनाको अन्य विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा झडप भएको हो । झडपमा परी दुई जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झडपमा प्रहरीले अत्याधिक बल प्रयोग गरेको र दुई राउण्ड गोली चलाएको स्थानीयवासीले आरोप लगाएका छन्। राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको पनि स्थानीयको भनाइ छ ।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । प्रशासनले तीन दिनदेखि रातिमा टहराहरू भत्काउँदै आएको थियो। तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो ।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले विरोध गरेका थिए । करिब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो ।

२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो । बुटवल उप–महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति छ ।

No description available.
No description available.

तस्विर सौजन्य
पत्रकार प्रकाश आचार्य

प्रकाशित मिति : २४ आश्विन २०७८ आइतबार ००:००  २ : ५४ बजे