मायादेवी अनलाइन, चारनम्बर ।
माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा सनसनीपूर्ण प्रदर्शन गरिहेको नेपालले आज भारतसंग खेल्दै छ । राति पौने १० बजे यी दुई चिरपरिचित प्रतिद्धन्दी भीँड्दा अहिले बिभिन्न अड्कलबाजी पनि भइरहेका छन् । यसैक्रममा वरिष्ठ खेल पत्रकार तथा खेल समिक्षक प्रकाश तिमिल्सिनाले आजको खेलमा स्पष्ट नतिजा नआउने प्रेडिक्सन गर्नु भएको छ ।
खेलपूर्व सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको नियमित संवाद कार्यक्रम समय संवादसंग कुराकानी गर्दै हाम्रो खेलकुद डटकमका प्रधानसम्पादक समेत रहनुभएका तिमिल्सिनाले यस्तो बताउनु भएको हो ।
साफ च्याम्यिनसिपमा नेपालले अहिलेसम्म तारिफयोग्य प्रदर्शन गरेको भन्दै उहाँले भन्नुभयो ‘आजको खेलमा त्यति ठुलो अन्तर आउनेजस्तो लाग्दैन । खेल प्रतिस्पर्धात्मक हुन्छ । मलाई लाग्छ आज एक-एकको बराबरीमै खेल टुङ्गिन्छ ।’
यसअघिको खेलमा उपाधि दावेदार टोली श्रीलङ्का र माल्दिभ्सलाई नेपालले हराइसकेकाले आज भारतलाई जित्न सहज नभएको उहाँको भनाई छ । अन्तिम ११ मा यसअघिकै खेलाडीहरु आउने भन्दै प्रशिक्षक अब्दुल्लाह अल्मुइतारीले एकदुई जना खेलाडी परिवर्तन गर्न सक्ने पनि उहाँको अनुमान छ । अञ्जन विष्ट, मनिष डाँगी, कुशल घलान, रोहित चन्द र कप्तान किरण चेमजोङको प्रदर्शन हेर्न लायक हुने उहाँले बताउनु भयो ।
उहाँले खेलमा सबै खेलाडीको भूमिका महत्वपूर्ण हुने बताउँदै अन्य खेलाडी पनि निकै राम्रो खेलिरहेको बताउनु भयो । नेपालले यस अगाडी माल्दिभ्स र श्रीलङ्कालाई हराएर स्पष्ट ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।
बाँकी अन्तरवार्तामा सुन्नुहोस्
प्रतिक्रिया