९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दसैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरेर मनाइँदै



काठमाडौं ।
बडादसैंको चौथो दिन आज देवी कुष्माण्डाको पूजा आराधना गरेर मनाइँदै छ । दसैं घर तथा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको आज पूजा आराधना गरिन्छ ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्ण र शीतललाई समभाव सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइन्छ ।

देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्जवलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।

उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रमा उल्लेख रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८ आइतबार ००:००  ७ : ३३ बजे