मायादेवी अनलाइन, तौलिहवा ।
नेकपा (एकीकृत समाजवादी) ले कपिलवस्तु नगरपालिका वडा नं. ६ मा वडा कमिटी गठन गरेको छ । शनिबार तिलौराकोटमा भएको वडा भेलाले निर्मल पोख्रेलको अध्यक्षतामा २३ सदस्यिय वडा कमिटी गठन गरेको हो ।
जसको उपाध्यक्षमा रामनयन केवट, सचिवमा रामदेव यादव, सहसचिवमा लक्ष्मी भण्डारी र अन्य सदस्यहरुमा रहनुभएको नेकपा (एस) कपिलवस्तु नगर कमिटीले जनाएको छ ।
भेलालाई सम्बोधन गर्दै नेकपा (एस) का जिल्ला उपाध्यक्ष गीता अञ्जानले पछाडि परेको तिलौरोकोट क्षेत्रको विकास अब आफुहरुले गर्ने उद्घोष गर्नुभयो । गौतमबुद्धको क्रिडास्थलका रुपमा परिचित स्थान तिलौरोकोट भएपनि यो ठाउँको विकास नभएको भन्दै अब नेकपा (एस)ले त्यसको अगुवाई गर्ने उपाध्यक्ष अञ्जानले बताउनुभयो । स्थानीयबासीको साथ, सहयोग बिना सोचेजस्तो विकास हुन नसक्ने भन्दै अब सबैको हातेमालोले समग्र कपिलवस्तु नगरपालिकाको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
नेकपा (एस) कम्युनिष्ट आन्दोलन बचाउँदै देशमा समाजवादको दिशा पहिल्याउने गरी जन्मिएको भन्दै एक पटक ठूलो पार्टी बनाउने गरी सबैको साथ आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
अनेरास्ववियूका जिल्ला अध्यक्ष दिपक अनुरागीले समाजमा शोषित, पीडित जनताको आवाज बोल्ने पार्टी एकीकृत समाजवादी नै भएको भन्दै समाजमा विद्यमान वर्गीय विभेदको अन्त्यका लागि समाजवादी यात्रा तय गर्नुपर्नेमा जोड दिनुभयो । देश भ्रष्टचारको जलजलमा फसेको भन्दै अब त्यसका विरुद्ध क्रान्तिकारी, देशभक्त नागरिकहरु जाग्ने बेला भएको बताउनुभयो । विश्वले चिन्ने तिलौराकोटको हविगत अझै माथि उठ्न नसकेको भन्दै अब कपिलवस्तु विकास कोषको स्थापनार्थ सबैले आवाज उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
युवा संघ नेपाल कपिलवस्तुका सचिव राजु आचार्यको सञ्चालनमा भएको कार्यक्रममा अनेरास्ववियू कपिलवस्तुका कोषाध्यक्ष कमल बेल्वासे, जिल्ला सचिवालय सदस्य श्रृती शुक्ला लगायतका नेताहरुले बोल्दै एकीकृत समाजवादीको यात्रा तय गर्नुको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । वडा भेलाबाट युवा संघ नेपाल, अनेमसंघ, मुस्लिम इत्तेहात संगठन, लोकतान्त्रिक अपाङ्ग महासंघ लगायतका जनसंगठनको जिम्मवारी पनि दिइएको थियो ।
प्रतिक्रिया