हरि अधिकारी, बहादुरगंज ।
गत सोमबार साँझदेखि कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला क्रमशः नियन्त्रणमा आउदै गएको छ । सोमबार साँझ ४/६ जनामा देखिएको झाडापखाला क्रमश बढ्दै गएपछि अस्पतालमा विरामीको संख्या ह्वात्तै बढेको थियो । झाडापखाला गाउँभरी नै फैलिएपछि कृष्णनगर नगरपालिकाको वडा नम्बर ५, ७, ८ र ९ का बासिन्दा बढि प्रभावित भएका हुन् ।
कृष्णनगर नगरपालिका वडा नम्बर ७ सुखरामपुरका अढाई बर्षीय आयान अली नाँउ झाडापखालाका कारण शिवराज अस्पतालमा भर्ना भए । उनका अभिभावकले ३ दिनदेखि पखाला लागेपछि नाँउलाई शनिबार अस्पताल ल्याएका थिए । अढाई बर्षीय नाँउलाई दिनको ४/५ पटक पखाला लाग्ने गरेको अभिभावकले बताए । अस्पतालले विरामी आउना साथ औषधी उपचार गरेको छ ।
त्यस्तै कृष्णनगर नगरपालिका वडा नम्बर ९ बहादुरगंजका ४ बर्षीया रन्जना कहारलाई शुक्रबार अस्पताल भर्ना गरियो । दैनिक ५/६ पटक झाडा पखाला लागेपछि उनका बाबु भरतलाल कहारले नजिकै रहेको शिवराज अस्पतालमा भर्ना गरी उपचार गराइरहेका छन् । उनलाई लगातार झाडापखाला संगै बान्ता पनि आउने गरेकाले अभिभावक चिन्तित छन् । तर अहिले औषधी उपचार पछि बोमिट रोकिएको छ ।
अर्का, कृष्णनगर नगरपालिका ८ दयानगर स्थित निरहु यादवको एकै घरका ८ जना झाडा पखालाबाट ग्रसित भए । ८ जना मध्ये ६ जना निको भएर घर फर्किए भने २ जना अस्पतालमा उपचरार्थ छन् । ४ दिनदेखि निरहु परिवारको हेरचाहमा अस्पतालमा छन् ।
झाडा पखालाका विरामी अस्पतालमा ह्वात्तै बढेसंगै शिवराज अस्पतालका डाक्टर सहितको स्वास्थ्यकर्मी उपचारमा रातदिन खटेका छन् । उनीहरुले विरामीको जाँच तथा औषधी उपचार लगाएतका आवश्यक स्वास्थ्य सेवा दिएका छन् भने कतिपय जटिल केसका विरामी जिल्ला अस्पताल तौलिहवा र बुटवलमा रिफर गरेको अस्पतालका डाक्टर मुकेश चौधरीले बताए ।
रातदिन औषधी उपचारमा स्वास्थ्यकर्मी खटिएपछि ५ दिनपछि क्रमश झाडा पखालाका विरामी कम हुदै गई नियन्त्रणमा आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । शनिबार सम्म शिवराज अस्पतालमा झाडा पखालाका ५ सय ४४ जना विरामी भर्ना भएकोमा ४ सय ६६ उपचार पछि डिस्चार्ज भएको बताइएको छ । ३८ जना बुटवल र तौलिहवा अस्पतालमा रिफर गरिएको थियो । झाडा पखालाका कारण २ जनाको भने ज्यान गयो ।
झाडा पखालाबाट बालबालिका बढि प्रभावित
झाडापखाला फैलिएको ५ दिनपछि अस्पतालमा विरामीको संख्या भने क्रमश घटेको छ । शनिबार मात्र झाडा पखालाका विरामी ६१ जना भर्ना भई उपचार गराइरहेको अस्पतालले जनाएको छ । शनिबार मात्र ६१ विरामी भर्ना भएकोमा २० जना बालबालिका रहेको पाइएको छ । उनीहरुलाई लगातार झाडा पखाला र केहीलाई बोमिट हुने गरेको छ । तर विरामीको अवस्था सामान्य वन्दै गएको अस्पतालले जनाएको छ ।
दुषित पानीका कारण झाडा पखाला
गत सोमबार देखि कृष्णनगर नगरपालिकामा फैलिएको झाडा पखालाको मुख्य कारण दुषित पानी भएको तथ्य फेला परेको छ । पानीका ४ वटा परिक्षण गरिएको मध्ये टुयुववेलमा र नेपाल खानेपानी संस्थान बहादुरगंजले वितरण गरेको खानेपानीमा दिशाका किटाणु भेटिएको हो । संस्थानले वितरण गरेको खानेपानीे सप्लाईको पानीको नमुना परिक्षणमा अत्यधिक व्याक्टेरिया (दिशाका किटाणु) देखिएको थियो । संस्थानले वितरण गरेको पानी नांगो आँखाले हेर्दै फोहोरो र धमिलो पना देखिएको परिक्षणका प्राविधिकले बताए ।
गत वुधबार भुपु सैनिक खानेपानी वाणगंगामा परिक्षण गरिएको नमुनामा एकसय फुट तलको पानीमा शुद्धता देखिएको र ४० फिट बराबरको ट्युववेलमा १०० मिलिलिटर बराबर २ प्रतिशत व्याक्टेरिया देखिएको थियो भने सप्लाईको धारामा अत्यधिक नगण्य व्याक्टेरिया देखिएको प्राविधिक धन बहादुर सोमैले बताए । त्यस्तैगरी सय फुटको ट्युववेलको नमुना पानी परीक्षणमा कुनै व्याक्टेरिया भेटिएन । खानेपानी संस्थानले वितरण गर्ने क्षेत्रहरु खासगरी कृष्णनगर नगरपालिका वडा नं. ५, ७, ८ र ९ वडाका बासिन्दा बढि झाडापखालाबाट ग्रसित छन् ।
उता संस्थानले वितरण गरेको पानी शुद्धता भएको विज्ञप्ती जारी गरेको छ । नेपाल खानेपानी संस्थान बहादुरगंजका कार्यालय प्रमुख रमेश मग्रातीले शुक्रबार एक विज्ञप्ती मार्फत संस्थानबाट वितरण गरेको सप्लाई क्षेत्रको पानीमा कुनै प्रदुषण र जिवाणु फेला नपरेको दावी गरेको छ ।
प्रभावित क्षेत्रमा स्वास्थ्य विशेषज्ञ र महासंघको टोली एकैसाथ
५ दिन देखि झाडा पखाला प्रभावित क्षेत्र बहादुरगंजमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको विशेषज्ञ टोली शनिबार आइपुगेको छ । शनिबार दिउसो स्वास्थ्य मन्त्रालय अन्तरगत इपिमिडियोलोजी, विश्व स्वास्थ्य संगठन सहितको विशेषज्ञ टोली शिवराज अस्पताल बहादुरगंग आइपुगेको हो । डाक्टर सहितको विशेषज्ञ टोलीले प्रभावित क्षेत्रको निरिक्षण, विरामी भेटघाट, नमुना संकलन लगाएतका काम गरेको स्वास्थ्य कार्यालय कपिलवस्तु प्रमुख पाण्डेले बताए । मन्त्रालयबाट खटिएको ३ जनाको विशेषज्ञको टोलीले पानी र दिशाको नमुना संकलन गरेको बताइएको छ ।
त्यस्तै, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कपिलवस्तुको टोलीले पनि झाडा पखाला प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरिक्षण गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र विक्रम शाहको नेतृत्वले कृष्णनगर नगरपालिकाको शिवराज अस्पताल र प्रभावित क्षेत्रमा पुगेर जानकारी लिएको हो । टोलीले नगरपालिकाको वास र स्वास्थ्यकर्मीसंग छलफल गरेको छ । खानेपानी महासंघको टोलीले संस्थानले वितरण गर्ने सप्लाई पानीको च्याम्बरहरुबाट दुषित पानी मिसिन सक्ने भएकाले पनि यस्ता समस्या आउन सक्ने बताएको छ । विभिन्न संघसंस्थाले घरधुरीमा पुगेर सूचना संकलन र पानीको शुद्धताबारे सचेतना सुरु गरेका छन्।
विरामीको कोभिड परिक्षण
शनिबार शिवराज अस्पतालमा झाडा पखालाबाट प्रभावित भएका व्यक्तिको कोभिड परिक्षण गरिएको छ । झाडा पखालाबाट प्रभावित भई अस्पतालमा भर्ना भएका विरामीको कोभिड परिक्षण गरिएको हो । केही विरामीमा कोभिडको सामान्य लक्षण देखिएपछि एन्टीजन विधीबाट कोभिड परिक्षण गरिएको अस्पतालका डाक्टर मुकेश चौधरीले बताए । एन्टिजन विधीबाट २५ जनाको नमुना संकलन गरिएको मध्ये १ जना महिलामा पोजेटिभ देखिएको छ ।
प्रतिक्रिया