९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सानिमा बैङ्कद्धारा कपिलवस्तुमा कारोबार सुरु, बाणगंगामा ८८ औँ शाखा



मायादेवी अनलाइन, चार नम्बर ।

नेपालको कान्छो बैङ्कको रुपमा रहेको सानिमाले कपिलवस्तुमा कारोबार सुरु गरेको छ । जिल्लाको बाणगंगा नगरपालिकामा बैङ्कको ८८ औँ जितपुर शाखा खुलेसंगै कारोबार सुरु भएको हो । नेपालीहरुको महान पर्व विजया दशमीको पहिलो दिन घटस्थापनाको अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी र बाणगंगा नगरपालिकाका उप-प्रमुख चक्रपाणी अर्यालले रिवन काटेर संयुक्त रुपमा समुद्घाटन गर्नु भएको थियो ।

बैङ्कको शुभारम्भ गर्दै सांसद विष्णु पन्थीले सफलताको शुभकामना ब्यक्त गर्नु भयो । कपिलवस्तु जिल्ला प्रदेशकै विकासको हब बन्ने क्रममा रहेको बताउँदै यहाँ वित्तीय संस्था, उद्योगधन्दा, कलकारखाना लगायतको स्थापनामा प्रतिस्पर्धा नै चलेको बताउनु भयो ।

कतिपय वित्तिय संस्थाले अनुशासन गुमाउँदा सर्वसाधारणमा विश्वास गुमेको भन्दै सो तथ्यलाई बुझेर सेवा दिन पनि संचालकलाई पन्थीको आग्रह छ । अन्य स्थानमा भन्दा बाणगंगामा लगानी सुरक्षित रहेको बताउनु भएका पन्थीले अझ धेरै उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन बैङ्कलाई सुझाउनु भयो । बाणगंगाका बैङ्कमा ५ अरब भन्दा बढी पुँजी रहेको बताउँदै उहाँले यस क्षेत्रको कर्जा प्रवाह राम्रो रहेको जानकारी गराउनु भयो ।

बाणगंगा नगर उपप्रमुख चक्र अर्यालले शुभकामना दिँदै नगरमा विकास र समृद्धिको लहर नै चलेको बताउनु भयो । यसमा सानिमा अर्को खुड्किलो भएको उहाँको भनाई छ । नगरमा धेरै बैङ्क भए पनि फरक बैङ्कको रुपमा स्थापित हुनेमा उहाँले आशा ब्यक्त गर्नुभयो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन दाहालले बाणिज्य बैङ्कहरुमा सानिमा अग्रस्थानमा रहेको बताउनु भयो । यसमा लगानी गर्ने ब्यक्ति एनआरएनएहरु भएका कारण आर्थिक पारदर्शीता र वित्तिय अनुशाषन, सर्वसाधारणलाई दिने सेवा, दिइने ब्याजको दर नै सानिमाको आकर्षण रहेको उहाँले जानकारी दिनुभयो ।

कपिलवस्तुको बाणगंगामा राम्रो आर्थिक कारोबार रहेको लुम्बिनी प्रदेशमै बाणगंगा नगरपालिका विकासमा अघि बढेको र यहाँ लगानीका धेरै क्षेत्र रहेको थाहा पाए पछि ८८ औँ शाखाको रुपमा सानिमाले बाणगंगामा शाखा खोलेको उहाँले बताउनु भयो ।

बैङ्कका लुम्बिनी प्रदेश प्रमुख प्रकाश कार्कीको स्वागत र रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छविलाल रेश्मी, समाजसेवी शंकर पाण्डे लगायतले बोल्नु भएको थियो । कार्यक्रममा नगरका वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेल, स्वास्थ्य शाखा अधिकृत भक्ति पाण्डे, समाजसेवी नारायण पौडेल, यहाँका बुद्धिजीवि लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७८ शुक्रबार ००:००  ७ : ०५ बजे