काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)ले मन्त्री हुनेहरूको नाम टुंगो लगाएको छ।
एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री र भवानी खापुङ राज्यमन्त्री हुने भएका छन्।
पार्टीबाट मन्त्री हुनेहरूको अन्तिम टुंगो लगाइएको नेकपाका एकीकृत समाजवादीका एक स्थायी कमिटी सदस्यले बताए।
‘हिजो अबेरसम्म नेताहरूको छलफलले मन्त्रीको नाम टुंगो लागेको हो । आजै सपथ गर्ने तयारी छ,’ एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस एक नेताले भने, ‘सपथ नगर्दासम्म कुनै परिवर्तन भयो भने एउटा कुरा हो । अहिलेसम्म हाम्रो पार्टीबाट मन्त्री हुनेहरूको सूची यही हो ।’
खतिवडा सहरी विकास मन्त्री हुँदैछन् । मकवानपुरबाट निर्वाचित खतिवडा एकीकृत समाजवादीबाट मन्त्री हुनेमध्ये सबैभन्दा पुराना नेता हुन् । उनी २०४८, ०५१, ०५६ र ०७४ गरी ४ पटक सांसद निर्वाचित भइसकेका छन्।
झाँक्रीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् । विद्यार्थी आन्दोलनबाट स्थापित झाँक्री एकीकृत समाजवादीकी सचिवसमेत हुन् । नेकपा एमालेमा अन्तरसंघर्ष हुँदादेखि पार्टी गठनसम्म झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् ।
झाँक्री अनेरास्ववियुको अध्यक्षसमेत भएकी थिइन् । उनी अनेरास्ववियुको अध्यक्ष बन्ने पहिलो महिलासमेत हुन्।
आलेले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । आले २०७० सालमा समेत सांसद बनेका थिए । २०७७ पुस १० गते बनमन्त्री बनेका आले २०७८ जेठमा हटाइएका थिए । मन्त्रीबाट हटेपछि ओलीसँग असन्तुष्ट बनेका आलेले माधव नेपाललाई पार्टी विभाजनमा साथ दिएका हुन् । २०७४ को निर्वाचनभन्दा पहिला आले नेपाल समूहमा नै थिए । २०७१ को नवौं महाधिवेशनमा आलेले नेपाल समूहबाटै केन्द्रीय सदस्य जितेका थिए ।
श्रेष्ठले श्रममन्त्रीको जिम्मेवारी पाउने भएका छन् । तनहुँबाट निर्वाचित सांसद श्रेष्ठ २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका हुन् ।
ओलीसँग नजिक रहेका श्रेष्ठ २०७७ वैशाख ९ गते तत्कालीन समाजवादी फोरमका सांसद ‘अपहरण’ प्रकरणमा मुछिएका थिए । एमाले सांसद महेश बस्नेत, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र श्रेष्ठ लकडाउनको बेलामा महोत्तरी पुगेका थिए । ओलीले मन्त्री नबनाएपछि श्रेष्ठ नेपालसँग नजिकिएका हुन् ।
तेह्रथुमबाट निर्वाचित सांसद भवानी खापुङ राज्यमन्त्री बन्ने भएका छन् । उनको मन्त्रालय भने टुंगो लागिसकेको छैन । उनलाई स्वास्थ्य या पर्यटन राज्यमन्त्रीमध्ये एक बनाउने तयारी रहेको एकीकृत समाजवादीका एक नेताले बताए ।
प्रतिक्रिया