९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

माछापालनबाट मनग्ये आम्दानी



तुलसीपुर ।
तुलसीपर उपमहानगरपालिका–१० निवासी यादव भण्डारीले ‘भण्डारी माछापालन एन्ड कृषि फर्म’मार्फत आफ्नै जग्गामा व्यावसायिक माछापालन गरेका छन्।

उनले पालन गरेका माछा अहिले दाङका बजारमा निकै माग हुने गर्छ। उनले सात वर्षदेखि एक बिघा क्षेत्रफलमा तीन पोखरी बनाएर माछापालन गर्दै आएका छन्। यसबाट वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए।

‘आफ्नै जग्गामा यसरी व्यावसायिक माछापालन गर्न थालेको सात वर्ष भयो,’ उनले भने, ‘यसबाट वार्षिक १५–२० लाख आम्दानी हुने गर्छ।’ ग्रास, सिल्भर, कमन, राहु, नैनी जातका माछापालन गर्दै आएको उनले जानकारी दिए। ती माछा जिल्लामा मात्रै होइन, बाँके, बर्दिया, सल्यान र कैलालीसम्म पुग्ने गर्छन्।

दाङ तथा आसपासका क्षेत्रमा माछाका भुरा पाइँदैन। यसले गर्दा पनि टाढाबाट माछाका भुरा ल्याउनुपर्ने अवस्था छ। उनले चितवनबाट माछाका भुरा ल्याउने गरेको बताए। उनले भने, ‘केही समयपछि आफैँले माछाका भुरा उत्पादन गर्ने तयारी गरेको छु।’

आफ्नो थप जग्गामा पोखरी बनाएर माछाका भुरा उत्पादन गर्ने तयारी रहेको उनको भनाइ छ। ‘अहिले बाहिरी जिल्लाबाट माछाका भुरा ल्याउनुपर्छ’, उनले भने, ‘अब म दाङमै माछाका भुरा उत्पादन गर्ने तयारी गरेको छु, यसले दाङ तथा आसपासका अन्य जिल्लालाई पनि सहज हुन्छ।’

घुँगी पनि उत्पादन

थारू समुदायको पहिचानका रूपमा रहेको घुँगी अहिले उनले पोखरीमा उत्पादन हुने गर्छ। यस वर्ष मात्रै तीन क्विन्टल उत्पादन गरेर बिक्री गरिसकेको उनले बताए। ‘हामीले माछासँगै घुँगी पनि उत्पादन गर्दै आएका छौँ,’ उनले भने, ‘यसको माग पनि राम्रो छ।’

उनको माछापोखरी किसानलाई परामर्श तथा विद्यार्थीको प्रयोगात्मक गर्ने थलो पनि बनेको छ। चितवनमा भेटेनरी डाक्टर अध्ययन गरिरहेका उनी प्रयोगात्मकका लागि आएका विद्यार्थीलाई धेरै कुराको जानकारी दिने गर्छन्। बिभीएससी एन्ड एएच विद्यार्थी प्रायः त्यहाँ प्रयोगात्मकका लागि आउने गर्छन् ।

अहिले उनी ठाउँ–ठाउँ गएर तालिम पनि दिने गर्छन्, ‘कहिले चितवन, कहिले नवलपुर गएर किसानलाई तालिम दिने गरेको छु,’ उनले भने, ‘समय व्यवस्थापन गरेर काम गरिरहेको छु।’

धेरै युवा बेरोजगार भएर भौंतारिरहेका छन् भने केही युवा आफ्नो ऊर्जावान समय अर्काको देशमा खेर फालिरहेका छन् तर भण्डारीले आफ्नै देशमा कुनै न कुनै पेसा गरेर मनग्ये आम्दानी गर्न सकिन्छ, भन्ने हेतुले पढाइसँगै यो पेसा सञ्चालन गरेको बताए।

उनले राप्ती प्राविधिक शिक्षालयबाट ‘प्लस टु’ पास गरेपछि नै यो व्यवसाय सुरु गरेका हुन्। उनको पशु डाक्टर बनेर जागिर गर्ने उद्देश्य छैन। एउटा पसल खोल्ने र पशु दाना पनि आफैँ उत्पादन गरी बिक्रीवितरण गर्ने, किसानलाई प्रोत्साहन गर्ने, माछापालन तथा बिक्रीवितरण गर्ने योजना रहेको उनले बताए। रासस

प्रकाशित मिति : २१ आश्विन २०७८ बिहिबार ००:००  ८ : १४ बजे