९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कृष्णनगरमा फैलिएको झाडाबान्ता हो कि हैजा ? आज रिपोर्ट आउँदै



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको रोग झाडाबान्ता हो कि हैजा ? आज रिपोर्ट आउँदै छ । सोमबारदेखि फैलिएको यस रोगबाट अहिलेसम्म करिब ४०० विरामी छन् भने फैलिन क्रम पनि रोकिएको छैन ।

गएराति पनि ३० देखि ४० विरामी थपिए । लुम्बिनी प्रदेश सरकार र जिल्ला स्वास्थ्य कार्यालयको विशेषज्ञसहितको टोलीले अहिले महामारीको स्थलगत अध्ययन गरेर स्याम्पलहरु टेस्टको लागि प्रयोगशालामा पठाएको छ ।

यद्यपी यस्तो किन भयो भन्नेबारे देशभर चासोको विषय छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले यो महामारीको प्रकोपको कारणबारे विहीबार थाहा हुने बताउनु भएको छ ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादसंग कुरा गर्दै उहाँले यस्तो जानकारी गराउनु भएको हो । उहाँले भन्नुभयो, ‘अहिले हैजा भनेर आशंका गर्ने ठाउँ छैन, झाडाबान्ता नै हो कि भन्ने अहिलेसम्मको प्रारम्भिक बुझाई यो हो । दिसा र पानीको स्याम्पल जाँचको लागि पठाएका छौँ । आजसम्म थाहा हुन्छ ।’

उहाँले अहिले सो रोग फैलिने क्रम रहेको बताउँदै त्यसलाई थप फैलिन नदिन आफूहरुको टोली रातदिन लागेको बताउनु भयो । नगरपालिकामा उपलब्ध १५ शैयाको अस्पतालमा करिब ४ सय विरामीको उपचार हुनु सामान्य कुरा नभएको भन्दै स्वास्थ्यकर्मीको टोलीले राम्ररी काम गरिरहेको बताउनु भयो ।

शिवराज र बहादुरगंज अस्पतालमा ३५० बढीले अहिले उपचार गराएका छन् । कतिपय नीजि क्लिनिकमा छन् । ५० बढी रेफर भएका छन् र गम्भिर प्रकृतिका विरामीलाई बुटवल काठमाण्डौँ रिफर गरिएको छ ।

उहाँले आफूहरुको प्रयासले थप सर्वसाधारणको मृत्यु नभएको बताउनु भयो । यो महामारीको अवस्था भएकाले सजिलै अस्पतालले थेग्ने स्थिति नभएको समेत उहाँले बताउनु भयो । घरघरमा गएर माइकिङ गरिएको, जनतालाई भेटिएको, जनचेतना बढाइएकाले अहिले फैलिने क्रम पनि घट्दो अवस्थामा रहेको बताउनु भयो ।

२१ औँ शताब्दीमा कपिलवस्तु कुन स्थितिमा छ भन्ने कुरा झाडापखालाबाट प्रष्टिएको भन्दै निर्वाचित जनप्रतिनिधिलाई उहाँले ध्यानाकर्षण गराउनु भयो । २१ औँ शताब्दिमा यो झाडापखाला प्रकोप अस्वभाविक हो, यस्तो १८५४ मा हुन्थ्यो, १८ औँ शताब्दिको यस्तो हुन्थ्यो । हामी कति पछाडी छौँ । कपिलवस्तु कति पछाडी छ भन्नेकुरा यहाँबाट बुझौँ, उहाँले थप्नु भयो ।

नगर प्रमुख रजत प्रताप शाहले महामारी नियन्त्रणका लागि आफ्नो तर्फबाट प्रयास गरिरहेको बताउनुभयो । पानीको कारण यस्तो समस्या आएको प्रारम्भिक बुझाई रहेको भन्दै थप अनुसन्धान विशेषज्ञले गरिरहेको नगर प्रमुख शाहले बताउनुभयो । चापकलको पानीको कारण यस्तो भएको हुन सक्ने भन्दै अब ओभरहेड ट्याङ्कीबाट खानेपानीको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । शिक्षाको कमी भएकै कारण यस्ता समस्या निम्तिएको उहाँको बुझाई छ । सफा पानी खानुपर्छ, जथाभावी दिसापिसाब गर्नुहुन्न भन्ने जनचेतनाका कार्यक्रम निरन्तर गरिरहेपनि सोच जस्तो प्रगति हुन नसकेको उहाँले स्विकार गर्नुभयो ।

कृष्णनगरको सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरा दयानगर, विजयनगर, जुमिला लगायतका गाउंमा सोमबारदेखि झाडापखाला र बान्ताका बिरामी देखिएका थिए ।

सोमबार रातिदेखि कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाका कारण अस्पताल आउने बिरामीको संख्या झन बढेको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधबार दिउँसोसम्म २ सय ५० जना बिरामी अस्पताल आएको जनाएको छ । हेल्थ असिष्टेन्ट उमेश घिमिरेले हिजो दिउँसोसम्म अस्पताल र स्थानीय क्लिनिकमा करिब २ सय बिरामी उपचारका लागि आएकोमा रातिदेखि आज बिहानसम्म ५० जना बिरामी थपिएको बताए ।

वडा नम्बर ९ का अध्यक्ष राममिलन कुर्मीका अनुसार झाडापखालबाट हालसम्म ५ वर्षका राज कश्यप, ४० वर्षका रामप्रसाद केवटको मृत्यु भएको छ ।

सुन्नुहोस् विशेष अन्तर्वार्ता

प्रकाशित मिति : २१ आश्विन २०७८ बिहिबार ००:००  ८ : १२ बजे