काठमाण्डौ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका दुई सय १९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । चलाएको नम्बर प्लेट विरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका एक सय ६५ वटा र अस्पष्ट वा खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल पक्राउ गरेको महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थाई नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलहरु विरुद्ध विशेष चेकजाँच अभियान सञ्चालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
विशेषगरि नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिएका मोटरसाइकलहरुले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको छ, त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन समेत समस्या हुने गरेको एसएसपी भट्टराईले व्यक्त गर्नुभयो ।
कतिपय त्यस्ता मोटरसाइकलहरु तिव्रगति र लापरबाहीका साथ चलाउने, ट्राफिक नियम उल्लंघन गर्दै हिँड्ने गरेको पाइन्छ भने हराउँदा समेत फेला पार्न सकस हुने गरेको महाशाखाले जनाएको छ । सम्पुर्ण सवारी धनीलाई त्यसमा पनि मोटरसाइकल धनीलाई आफ्नो सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अवस्था समेत सहि हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गरि हिँड्ने, दुर्घटना गरि फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुन सक्ने चोरी लुटपाट लगायतका अपराधिक क्रियाकलापलाई रोक्न यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महाशाखाको बुझाई छ ।
त्यस्ता तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाईकललाई ट्राफिक प्रहरीले पाँचसय देखी पन्ध्र सय रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया