मायादेवी अनलाइन, चारनम्बर ।
प्राणघातक नशा र मांसपेशीको रोगले ग्रसित अनिता विकको उपचारमा सहयोग जुट्ने क्रम जारी छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँमा घर भएकी अनिताको उपचारको लागि मंगलबार लायन्स क्लव अफ दिदीबहिनी कपिलवस्तुले आर्थिक सहयोग गरेको छ ।
घरमै पुगेर अनिताका ससुरालाई क्लवकी अध्यक्ष सविता पौडेसहितको टोलीले नगद् २१ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको थियो । मायादेवी अनलाइन तथा टिभीबाट अनिताको बारेमा थाहा पाएपछि अलिकति भए पनि उपचारमा सहयोग पुगोस् भनेर सहयोग गरिएको अध्यक्ष सविता सापकोटाले मायादेवीसंग बताउनु भयो ।
आफ्नी बहिनी समानकी अनिताको बेहाल र घरको आर्थिक अवस्था निकै दयनीय भएपछि दिदीबहिनीले खाजा खर्च कटाएर सहयोग गर्ने मन बनाएको उहाँको भनाई छ । सहयोग पाए पछि अनिताको परिवार पनि निकै खुसी भएको छ ।
सबैको सहयोगबाट अहिले अनिताको स्वास्थ्य पनि सुधार हुँदै गएको भन्दै परिवारजनले सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् । कार्यक्रमको संचालन सचिव कविता पाण्डेले गर्नु भएको थियो ।
२ महिनाकी गर्भवती अनिता विक अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेकी छन् । निकै महंगो उपचार खर्च लाग्ने सो रोगका कारण अहिलेसम्म २५ लाख खर्च भइसकेको छ भने अझै लाखौँ रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ ।
अनिताको उपचारमा दैनिक १ लाख खर्च भइरहेको अवस्थामा आजभोली उनको भेन्टिलेटरबाट आइसियूमा सारेर उपचार भइरहेको छ । डाक्टरको भनाई उदृत गर्दै अनिताका परिवारले भनेका छन् कि ‘अनिता अब चाँडै निको हुने छिन् ।’
प्रतिक्रिया