काठमाण्डौ ।
सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका निक्षेपकर्ताको झन्डै ७१ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पूर्वसांसद इच्छाराज तामाङसहित १२ जना पक्राउ परेका छन् । निक्षेपकर्ताको उजुरीका आधारमा पूर्वसांसद इच्छाराज तामाङसहित सञ्चालक समितिका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र प्रबन्धक भगवानबहादुर सिंह पक्राउ परेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले जनाएको छ ।
यस्तै मायोनानी महर्जन, एलिना तुलाधर, शंकरप्रसाद पाठक, संगीत श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभकेतन ढुंगाना, विजयविक्रम शाह र हरिहर लामिछाने पनि पक्राउ परेका छन् ।
ग्राहकले मुद्दती निक्षेप खातामा जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम मुद्दती खाताको अवधि पुगिसकेपछी खाताबाट रकम झिक्नका लागि पटक–पटक ताकेता गर्दा सिभिल सहकारीले फिर्ता दिएको थिएन ।
सिभिल सहकारीले सर्वसाधारणको बचतको ठूलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली २०७५ को प्रावधान विपरीत एकै व्यक्ति संस्थापक रहेको विभिन्न परियोजनामा लगानी गरेको र लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकी बचतकर्ताको बचत खतरामा परेको सीआईबीले जनाएको छ ।
अहिलेसम्म एक सय ३७ बचतकर्ताले दिएको उजुरीका आधारमा ७० करोड ८७ लाख १३ हजार रुपैयाँ ठगी गरेको भेटिएको प्रहरीले जनाएको छ । सिभिल सहकारीबाट ठगिएका अन्य व्यक्तिलाई पनि उजुरी दिन प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया