काठमाण्डौ ।
नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दैछ । भारतको राजधानी नयाँदिल्लीमा आज बैठक बस्न लागेको हो । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि उत्पन्न विवादले रोकिएको दुई देशबीचको बैठक दुई वर्षपछि बस्न लागेको हो ।
बैठकमा सीमा सुरक्षा र गस्ती, दुई देशबीच जोडिएका नाकाको प्रयोग, अन्तरदेशीय अपराध नियन्त्रण तथा रोकथामलगायतका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ । तर बैठकमा कालापानी र सुस्ताका विषयमा भने छलफल नहुने भएको छ । बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक ९आईजीपी० शैलेन्द्र खनाल नेतृत्वको टोली हिजो भारतको नयाँदिल्ली पुगेको छ । नेपालका तर्फबाट आईजीपी खनाल, सशस्त्र प्रहरी कार्य तथा सीमा विभाग प्रमुख पुष्पराज केसी, प्रशासन विभागका डीआईजी नारायणदत्त पौडेललगायत सहभागी हुनुहुनेछ ।
भारतका तर्फबाट भारतीय सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रासहितको टोली सहभागी हुँदैछ । दुई देशले आलोपालो बैठक आयोजना गर्ने भनिए पनि नियमित बैठक बस्न सकेको छैन। यसअघि चौथो बैठक २०७६ मंसिर ४ र ५ गते पोखरामा बसेको थियो । पहिलो पटक २०६९ सालमा भारतमा बैठक बसेको थियो । दोस्रो बैठक २०७२ सालमा नेपालमा र तेस्रो बैठक २०७३ सालमा नयाँदिल्लीमा बसेको थियो । भारतले २०७६ कात्तिकमा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।
नेपालले लिम्पियाधुरासहित २०७७ साल जेठ ७ मा राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशित गरेपछि सीमा सुरक्षा बैठकसहित कुटनीतिक वार्ता र छलफल रोकिएको थियो । पछिल्लो पटक भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकालीमा तुइनको लट्ठा खुस्काएपछि दार्चुलाका जयसिंह धामी बेपत्ता भएका छन् । यसबारेमा जवाफ मागेर नेपालले भारतलाई पत्र पठाएको भए पनि जवाफ दिएको छैन।
प्रतिक्रिया