कपिलवस्तु ।
कपिलवस्तुमा २४ प्रतिशतले कोरोना भाईरस विरुद्धको पूर्णखोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार जिल्लाका ३१ प्रतिशतले भने कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।
कपिलवस्तु जिल्लामा हालसम्म चार लाख ४५ हजार नौ सय अपेक्षित जनसङ्ख्यामध्ये जम्मा २४ प्रतिशतले मात्रै पूर्ण मात्रा खोप लगाएको मन्त्रालएको तथ्याङक छ । कोरोना विरुद्ध कोभिशिल्ड, भेरोशिल र जोन्सन एण्ड जोन्सनको खोप नेपालमा लगाइएको छ । कोभिशिल्ड र भेरोशिल लगाउनेहरुले दुईवटा खोप लगाउनुपर्ने छ भने जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाए पुग्छ ।
लुम्बिनी प्रदेशमा ३३ लाख ८७ हजार १२८ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले मात्रै अहिले सम्म कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा जम्मा ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
रुपन्देहीको कुल जनसंख्यामा २६ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको पाइएको छ। अपेक्षित जनसंख्याको ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । मन्त्रालयका अनुसार जिल्लामा सात लाख १३ हजार १६८ अपेक्षित जनसङ्ख्या रहेका छन् ।
पूर्वी रुकुममा २० प्रतिशतले पूर्ण मात्रा र ५९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै रोल्पामा २४ प्रतिशतले पूर्ण मात्रा र ३४ प्रतिशतले पहिलो मात्रा, प्यूठानमा २७ प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । उता पहाडी जिल्ला गुल्मीमा ३४ प्रतिशतले पूर्ण मात्रा र ३७ प्रतिशतले पहिलो मात्रा अर्घाखाँचीमा २९ प्रतिशतले पूर्ण मात्रा र ३६ प्रतिशतले पहिलो मात्रा खोप लगाएको तथ्याङ्कमा उल्लेख छ ।
पाल्पामा ३२ प्रतिशतले पूर्ण मात्रा र ४२ प्रतिशतले पहिलो मात्रा खोप लगाए भने पूर्वी नवलपरासीमा अपेक्षित जनसङ्ख्यामध्ये २७ प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै दाङमा अहिले सम्म जम्मा २४ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा बाँकेमा २६ प्रतिशतले पूर्ण मात्रा र २९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने बर्दियामा २५ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाउन पाएका छन् ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको तथ्याङक अनुसार अझै ठूलो संख्यामा नागरिकहरु कोरोना विरुद्धको खोपबाट बञ्चित छन् । खोपको पहिलो मात्रा लगाएर बसेका अझ धेरै छन् । उनीहरुले दोस्रो मात्रा खोपको आस गरेको महिनौ भइसक्दा समेत दोस्रो डोज खोप पाएका छैनन् । उता सरकारले भने दशै पछि सबै नागरिकहरुलाई खोप लगाइसक्ने दावी गरेको छ। चैत्र मसान्त सम्म देशका सबै नागरिकहरुलाई पूर्ण मात्रा खोप लगाउने सरकारको लक्ष्य छ ।
प्रतिक्रिया