९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कांग्रेस काठमाण्डौ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी



काठमाण्डौ ।
नेपाली कांग्रेस काठमाण्डौ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी हुनुभएको छ । कांग्रेस काठमाण्डौ महानगरपालिकाको हिजो भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिनुभयो ।

नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य २०७४ सालमा सम्पन्न काठमाण्डौ महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्षसमेत हुनुहुन्छ ।

यस्तै दुई उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन, दुई सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल, दुई सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत केसीले बताउनुभयो ।

लामो समयपछि भएको काठमाण्डौ महानगरपालिकाको निर्वाचनमा एक हजार ३३९ मत खसेको थियो । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म काठमाण्डौको मतदान भएको थियो । काठमाण्डौ महानगरपालिका देशभरिकै जनसङ्ख्याका दृष्टिकोणले सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा ३२ वडा रहेका छन् ।

यसअघि काठमाण्डौको सात नगरपालिका निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । काठमाण्डौको चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ भने दक्षिणकाली नगरपालिकामा वडा नं २ को अधिवेशन गर्न नसकेर पालिका अधिवेशन हुन नसकेको काठमाण्डौका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जानकारी दिनुभयो ।

दक्षिणकाली नगरपालिकाको पनि दसैँअघि निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन समिति अगाडि बढिरहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८ सोमबार ००:००  ११ : ४० बजे