३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

एकीकृत समाजवादीका नेतालाई एमालेले प्रदेश कमिटीमा राखेपछि…



झापा ।
पार्टी विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)मा आफ्ना नेतालाई जान नदिन जम्बो प्रदेश कमिटी बनाएको एमालेको एक नम्बर प्रदेश कमिटी विवादमा तानिएको छ । विगतमा एमालेको वडा अधिवेशनमा नै पराजित बनेका र वडा कमिटीमा रहेकालाई सम्म अन्य सिनियर नेताकै हैसियतमा प्रदेश कमिटी सदस्य बनाएपछि एमालेको एक नम्बर प्रदेश कमिटीमा विवाद सुरु भएको हो ।

नयाँ पार्टीमा जानबाट रोक्नका लागि भन्दै एमालेले बनाएको प्रदेश कमिटीमा केन्द्रिय कमिटीका सदस्य भएका सम्मलाई वडामा नै रहेकासँग समान हैसियत दिएको भन्दै प्रदेश कमिटीमा विवाद सुरु भएको एमालेका एक नेताले जानकारी गराएका छन् ।

मंगलबार एमालेले बनाएको ५ सय ८४ सदस्यीय एक नम्बर प्रदेश कमिटीमा सरकारी नियुक्तिमा रहेका र सरकारी पदमा नै बहाल रहेका सम्मलाई राखिएको विषयमा समेत एमाले भित्र कुरा उठ्न थालेको छ । वडा र नगर तथा गाउँ कमिटीमा रहेका समेतलाई प्रदेश सदस्य बनाएको सार्वजनिक भएपछि पार्टीका सिनियर नेताले आपत्ति प्रकट गरेका हुन् ।

प्रेस काउन्सिलका सदस्य , राष्ट्रिय समाचार समितिका सञ्चालक सदस्य र पार्टीका वडा तहका अधिवेशनमा नै पराजित बनेका सम्मलाई प्रदेश सदस्य बनाएको सार्वजनिक भएपछि एमाले भित्र एक नम्बर प्रदेशमा विवाद चुलिएको हो ।

पार्टी भित्रको वरियताका विषयमा विवाद सुरु भएकै समयमा एमालेले प्रदेश कमिटीमा माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका नेता समेतलाई राखेको खुलेको छ । एकीकृत समाजवादीमा खुलेका विष्णु शिवाकोटी र श्रीमन नारायण पौडेलले विज्ञप्ति जारी गरी आफूहरू एकीकृत समाजवादीको प्रदेश कमिटीमा नै रहेको जानकारी गराएका छन् । त्यसैगरी द्वन्द्वकालमा ओखलढुङ्गाका उज्जन कुमार श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका माओवादीका पूर्व सांसद बालकृष्ण ढुङ्गेलका विषयमा समेत एमाले भित्र कुरा उठेको छ । विगतमा आफैँले कारवाहीको माग गरिएका ढुङ्गेललाई प्रदेशमा स्थान दिदा ओखलढुंगा सहितका पहाडी जिल्लामा पार्टीलाई क्षति पुग्ने भन्दै विरोध हुन थालेको एक नेताले जानकारी गराएका छन् ।

विगतमा जिल्ला अध्यक्ष, केन्द्रिय तह र सांसद सम्म भएकालाई वडा तहमा नै पराजित भए बराबरको हैसियत दिएपछि प्रदेश एकमा एमाले भित्र नयाँ विषयमा विवाद सुरु भएको हो ।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  ६ : ५७ बजे