३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कतारकी राजकुमारी थानीद्वारा बिना अक्सिजन मनास्लु हिमालको सफल आरोहण



म्याग्दी ।
कतारी राजकुमारी शेखा आस्मा अल थानीले बिना अक्सिजन गोरखाको मनास्लु हिमालको आरोहरण गरेकी छन्।

हिमाल आरोहणमा कीर्तिमान कायम गरेका म्याग्दीका आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेजमा जनाएअनुसार राजकुमारी थानीले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल बिना अक्सिजन सोमबार आरोहण गरेकी हुन्।

उनी इलाइट हिमालय एड्भेञ्चरमार्फत मनास्लु आरोहणका लागि आएकी थिइन्।

कीर्तिमानी आरोही निर्मल पुर्जा, मिङ्मा डेविड शेर्पा, र मिङ्मा तेञ्जिङ शेर्पा थानीको गाइडका रूपमा खटिएका थिए। उनीहरूकै सहयोगमा थानीले मनास्लु आरोहण गरेको इलाइट हिमालय एड्भेञ्चरले जनाएको छ। टिममा ३२ जना आरोही रहेको जनाइएको छ।

इलाइट हिमालय एड्भेञ्चरका कुशल बूढाथोकीका अनुसार राजकुमारी थानी विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने उद्देश्‍यसहित सगरमाथा आरोहणका लागि नेपाल आएकी थिइन्। तर,सगरमाथा आरोहणका लागि मौसम अनुकूल नभएपछि अहिले मनास्लु आरोहण गरेकी हुन्।

राजकुमारी थानीले दक्षिण अमेरिकाको ६,९६९ मिटरको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५,८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेकी जनाइएको छ।

नेपाल पर्यटन विभागका अनुसार मनास्लु हिमालसँगै यो महिना ६ वटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको छ। तीमध्ये मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा धेरै १७ आरोहण दलबाट १३३ पुरुष र ३८ जना महिला गरी १७१ जनाले अनुमति लिएका छन्। उनीहरूबाट १ करोड ८० लाख ९९ हजार रुपैयाँ सलामी दस्तुर पर्यटन विभागले लिएको छ।

त्यस्तै, धौलागिरि हिमाल आरोहणका लागि चार टिमका ४० जना र मरियाङ हिमाल आरोहणका लागि एक टिमबाट आठ जनाले अनुमति लिएका छन्।

त्यसैगरी, पुथा हिमचुली आरोहणका लागि एक टिमका तीनजना, कञ्चनजङ्गा हिमाल आरोहणका लागि एक टिमका तीनजना र कुम्भकर्ण हिमाल आरोहणका लागि एक टिमका पाँचजना र गरी जम्मा २३० जना आरोहीले अनुमति लिएको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ।

हिमाल आरोहण शुल्कबाट दुई करोड ३० लाख ७८ हजार ३५६ रुपैयाँ राजस्‍व संकलन भएको विभागले जनाएको छ।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  १ : ०३ बजे