३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री र प्रचण्डबीच छलफल



काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलहरूसँग मन्त्री बन्नेहरुको नाम माग्नु भएको छ । कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति जुटिसकेको छ । दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको हो ।

प्रधानमन्त्री देउवाले भोलीसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नु भएको छ । उहाँले आज बेलुकासम्ममा आफ्नो कोटाबाट मन्त्री बन्नेको नाम दिन पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई आग्रह गर्नु भएको बालुवाटर स्रोतले जनाएको छ । माओवादी केन्द्रले पनि आज बस्ने स्थायी कमिटी बैठकमार्फत मन्त्रीको नाम टुंगाउने तयारी गरेको छ ।

बैठक केहीबेर पछि बस्ने छ । माओवादीले यसअघि जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्रीका रूपमा सरकारमा पठाइसकेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  १२ : ५७ बजे