३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं ।
परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। मन्त्री खड्काको शपथ संविधानविपरीत भएको दाबी गर्दै अदालतमा रिट दायर परेको हो।

नेपालको संविधानको धारा ८० ले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्ने संवैधानिक व्यवस्था गरेको रिटमा उल्लेख गरिएको छ।

रिटमा भनिएको छ, ‘संवैधानिक व्यवस्थाविपरीत असोज ६ मा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा परराष्ट्रमन्त्री नियुक्त डा। नारायण खड्काले संविधानको धारा ८० बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएको भनिएकोमा संवैधानिक प्रावधानबमोजिम धारा ८० भनिए पनि उल्लिखित धाराअनुसार संघीय कानुन बमोजिम हुनुपर्नेमा कुनै पनि कानुनी व्यवस्था नगरी अथवा कानुनी स्रोतको अभावमा पद तथा गोपनीयताको शपथ गराइएको हुनाले उक्त गैरसंवैधानिक शपथ बदर गरी शपथ सम्बन्धी कानुन निर्माण गरी सोही बमोजिम शपथ ग्रहणका लागि यो निवेदन लिई उपस्थित भएको छु।’

मन्त्री खड्काको शपथ असंवैधानिक भएकाले शपथ सम्बन्धी कानुन निर्माण गरेर मात्रै गर्नको लागि विपक्षीको नाममा परमादेशको माग गरिएको छ। २०७८ असोज ६ गते खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए। पदभार ग्रहण गरेलगत्तै मन्त्री खड्का अमेरिका गएका छन्।

प्रकाशित मिति : १२ आश्विन २०७८ मंगलबार ००:००  ४ : ३६ बजे