३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

१० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको संयोजकमा भीम रावल



काठमाण्डौ ।

नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकमा उपाध्यक्ष भीम रावललाई तोकेको छ । आज सोमवार ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई यस कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार बैठकले १० बुँदे सहमति कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधान गर्ने जिम्मेवारी पनि यस कार्यदललाई दिने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिनुभयो । कार्यदलमा रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरू सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहनुभएको थियो भने नेता शङ्कर पोखरेललाई पनि कार्यदलमा राख्ने निर्णय गरिएको छ ।

बैठकले पार्टीको जनवर्गीय सङ्गठनहरूमा देखिएको समस्या पनि तत्काल हल गर्न पार्टीका महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदललाई निर्देशन दिएको छ । प्रचार विभाग प्रमुख भट्टराईले भन्नुभयो, ‘मोर्चा सङ्गठनहरूमा पनि यसको कार्यान्वयनका निम्ति महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा सङ्गठन विभाग प्रमुख विष्णु पौडेल, मोर्चा फाटका गोकर्ण विष्ट र टोपबहादुर रायमाझी रहनुभएको कार्यदल छ । यही कार्यदलले जनवर्गीय सङ्गठनमा देखिएका समस्या पनि हल गर्ने र सकेसम्म विधान महाधिवेशनअघि नै यो समस्यालाई समाधान गरेर प्रतिनिधिहरू ल्याउने व्यवस्था गर्ने भनेर अध्यक्षले आज निर्देशन दिनुभएको छ ।’

एमालेले पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधानसम्बन्धी प्रतिवेदनमा पार्टीभित्र फरक मत नरहेको पनि जनाएको छ ।
बैठकले एकीकृत कम्युनिस्ट पार्टी बनाउने पार्टीको मुख्य कार्यभार रहेको निष्कर्ष निकाल्दै त्यसका लागि सम्पूर्ण कम्युनिस्ट पार्टीहरूसँगको छलफललाई अघि बढाउने निर्णय पनि गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति : १२ आश्विन २०७८ मंगलबार ००:००  ५ : ३६ बजे