३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

‘ल्याण्डिङ गियर विराटनगरमै खुले पनि सुरक्षाका लागि जहाज काठमाण्डौ ल्याइएको हो’



काठमाण्डौ ।
ल्याण्डिङ गियरमा समस्या हुँदा विराटनगरका लागि उडेको बुद्ध एअरको जहाज आज सोमवार बिहान काठमाण्डौ फर्काएर दुई घण्टा आकाशमा होल्डिङ गरेपछि सुरक्षित अवतरण भयो । बुद्ध एअरले विराटनगरमै जहाजको ल्याण्डिङ गियर खुले पनि सुरक्षाका लागि काठमाण्डौमा ल्याएर अवतरण गर्नुपरेको जनाएको छ ।

बुद्ध एअरले विज्ञप्तिमार्फत भनेको छ, ‘जहाजमा ल्याण्डिङ गियरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ, जसअनुसार प्राइमरी इण्डिकेटरमा सङ्केत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो । यसरी सेकेण्डरी इण्डिकेटरमा रातो बत्ती बलेको अवस्थामा पनि ल्याण्डिङ गियर खुलेकै मानिन्छ । सुरक्षामा शून्य सहनशीलताअनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाण्डौ फर्काउने निर्णय गरे ।’

काठमाण्डौको आकाशमा जहाज आइसकेपछि क्याप्टेनले बुद्ध एअरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर जाँच गर्दा सही र झरेको अवस्थामा पाइएपछि सुरक्षित साथ जहाजलाई नर्मल अवतरण गराइएको बुद्ध एअरले जनाएको छ ।

जहाजलाई सुरक्षित अवतरण गराउन विमानस्थलमा दमकल, एम्बुलेन्स, उद्धारकर्ताको उपस्थितिलगायत विभिन्न तयारी गरिएको थियो । जहाजको ल्याण्डिङ गियर नखुलेको अवस्थामा आकाशमै घुमाएर इन्धन सक्ने र धावनमार्गमा फम बिच्छाएर अवतरणको तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

जहाज सकुशल अवतरण भएपछि पाइलट, यात्रु, बुद्ध एअरका कर्मचारीलगायत सबैले खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८ सोमबार ००:००  २ : २७ बजे