३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण



काठमाण्डौ ।
विराटनगरमा अवतरण हुन नसकेपछि काठमाण्डौ फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण भएको छ ।

झण्डै दुई घण्टासम्म आकाशमा घुमेपछि जहाजलाई सुरक्षित अवतरण गराइएको हो । जहाजको सामान्य अवतरण भएको र चालक दलका सदस्य तथा सबै यात्रुहरू सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ। बुद्ध एयरकाअनुसार टावरबाट ल्यान्डिङ गियर खुलेको र सुरक्षित तरिकाले अवतरण गर्न सक्ने सुनिश्चित गरिएपछि चालकले जहाज अवतरण गराएका थिए । जहाजमा ७३ यात्रु र चालकदलका ४ सदस्य थिए ।

बिहान ८ बजेर ३० मिनेटमा विराटनगरका लागि उडेको जहाज ल्याण्डिङ गियरमा समस्या भएपछि काठमाण्डौ फर्किएको थियो । काठमाण्डौको आकाशमै झन्डै १० फन्को लगाएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २० मिनेटमा सुरक्षित रुपले अवतरण गरिएको हो ।

जहाजलाई प्राथमिकतामा राखेर सफलतापूर्वक अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८ सोमबार ००:००  १२ : १७ बजे