३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

अमेरिका पुगेका परराष्ट्रमन्त्री भेटघाटमा व्यस्त




काठमाण्डौ ।

संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन अमेरिका गएका परराष्ट्रमन्त्री डा।नारायण खड्का भेटवार्तामा व्यस्त हुनु भएको छ ।

उहाँले हिजो बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गर्नुभयो । उहाँहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवर्द्धनबारे कुराकानी भएको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

दुवै देशका विदेशमन्त्रीले विगतका सहमतिहरू कार्यान्वयन गर्न सहमति पनि जनाएका नियोगले जनाएको छ । हिजो नै मन्त्री खड्काले ७६ औँ महासभाका अध्यक्ष अब्दुल्ला शहिदसँग भेटवार्ता गर्नुभयो ।

भेटमा मन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घमा नेपालका प्राथमिकता, विश्व शान्ति, सुरक्षा, विकास, मानवअधिकार, राष्ट्रसङ्घीय शान्ति स्थापना कार्य तथा अल्पविकसित देशहरूका निम्ति विशेष सहयोगबारे छलफल गर्नुभयो ।

मन्त्री खड्काले महासभाका अध्यक्षलाई नेपालबाट पूर्ण समर्थन हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । प्रत्युत्तरमा अध्यक्ष शहिदले आफ्नो कार्यकालमा संयुक्त राष्ट्रसङ्घमा आफ्ना प्राथमिकताबारे चर्चा गर्दै आफूलाई अध्यक्षमा नेपालबाट समर्थन भएकामा त्यसको सराहना गर्नुभयो ।

परराष्ट्रमन्त्री खड्काले भोलि महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १० आश्विन २०७८ आइतबार ००:००  १२ : ५३ बजे