४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गठबन्धनका दलहरू बाटै मन्त्रिपरिषद् विस्तारमा ढिलासुस्ती भएको हो : प्रकाशमान



काठमाडौं
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारूढ गठबन्धन दलकै कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताएका छन्। काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताएका हुन्।

२५ सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने छ। त्यसले पूर्णता पाएको छैन। घटक पार्टीहरूको कारण, नयाँ पार्टी गठन भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले भने, ‘उहाँहरूका अदालतमा मुद्दा छ। गठबन्धनका दलहरू आन्तरिक व्यवस्थापनमा व्यस्त हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलासुस्ती भएको हो। प्रधानमन्त्रीले सकेसम्म चाँडै मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्‍यो।’

नेपालमा लगानी गर्नेका लागि स्रोत नखोज्ने र सेनेटरी प्याडमा कर लगाउने सरकारको योजनामा पनि सिंहले प्रश्न उठाए। ‘राजनीति भनेको सेवाको क्षेत्र हो, मेवा खाने क्षेत्र होइन’ भन्दै नेता सिंहले अब पुराना नेताहरूलाई सम्मानपूर्वक पार्टीको नेतृत्वबाट बिदाइ गर्नुपर्ने बताए ।

‘पुराना नेताहरूलाई सम्मानजनक रूपमा नेतृत्वबाट बाहिर पठाएर नयाँ नेताहरूले नेतृत्व लिएर जनतामा आशा जगाउनुपर्छ’ उनले भने ।

राजनीति जनताको विश्वासमा चल्ने र त्यो कायम राख्नका लागि जनताको विश्वास गुमाइ सकेपछि नेतालाई बारम्बार पदमा पुर्‍याउने काम गर्न नहुने उनले बताए । पदमा पुगेर केही काम नगर्ने नेतालाई बिदा गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेसको १४ औँ महाधिवेशनको मिति पटकपटक सर्नुको कारण संगठन कब्जा गर्ने मनसाय रहेको पनि सिंहले आरोप लगाए।

‘कांग्रेसमा अहिले ‘ए कांग्रेस’, ‘बी कांग्रेस’ र ‘सी कांग्रेस’ मात्रै देखिएको छ। तर, पार्टीले त्यता ध्यान दिएको छैन। आगामी महाधिवेशनपछि संस्थागत रूपमा पार्टी अघि बढाउनुपर्छ’ उनले भने।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  २ : ४२ बजे