४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लागुऔषधसहित रुपन्देहीबाट ६ जना पक्राउ



रुपन्देही ।

लागुऔषधसहित रुपन्देहीबाट प्रहरीले छ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत महाराजगञ्ज नौतहवाका २२ वर्षीय तारकेश्वर हरिजन, मायादेवी गाउँपालिका ३ का २९ वर्षीय बालमुकुन्द हरिजन र सप्तरी कञ्चनरुप नगरपालिका १० का २१ वर्षीय रविन्द्रकुमार रावत छन्।

उनीहरूको साथबाट प्रहरीले १० ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरी उपरीक्षक मनोज केसीले बताए। उनीहरूको साथमा ब्राउनसुगर तौलने तराजु पनि थियो। सिद्धार्थनगर नगरपालिका ६ स्थित महावीरपथबाट प्रहरीले बा३प २७३९ र लु३१प २६१२ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी, प्रहरीले रोहिणी गाउँपालिका ५ मझौनि चोकबाट लु४प ११३४ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासी रामग्राम नगरपालका १६ का १९ वर्षीय इस्लाम चुरिहार र मोटरसाइकल पछाडि सवार २० वर्षीय आलमगरी चुरिहारलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताए।
उनीहरूको साथबाट डाइजेपाम ३०२ सिसी, नुफिम ३०० सिसी र फेनोरागन ३०० सिसी बरामद भएको छ।

यस्तै, मायादेवी गाउँपालिका ५ मा लु ४४ प ५८६० नम्बरको मोटरसाइकलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। विनरोफ नामक २९ बोतल लागुऔषधसहित मायादेवी ६ का ३४ वर्षीय नन्दलाल मल्लाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान थालिएको सो कार्यालयले जनाएको छ। लागुऔषधविरुद्धको कारबाहीमा गत वैशाखयता प्रहरीले रुपन्देहीबाट ६१ पुरुष र पाँच महिलालाई पक्राउ गरेको छ।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  १ : १० बजे