४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राष्ट्रिय सभामा एमालेले सभामुखको राजीनामा माग्यो



काठमाण्डौ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको छ । आज मङ्गलवार सुरु भएको राष्ट्रिय सभाको दोस्रो बैठकमा बोल्दै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सभामुख सापकोटाको राजीनामा माग गर्नुभएको हो ।

बैठक सुरु हुनासाथ यसअघि झैँ एमालेका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए । त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिनुभएको थियो । त्यसपछि बोल्न सुरु गर्नुभएका सांसद श्रेष्ठले आफ्नो पार्टीले दलको अनुशासन तोडेका १४ सांसदलाई कारबाही गरेको सिफारिसअनुसार उनीहरूलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको आरोपसमेत लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सोध्न चाहन्छाँ– कुनै पनि व्यक्ति आफ्नो कुर्सीमा बसिसकेपछि मर्यादा कसैले पनि उल्लङ्घन गर्न हुन्न । त्यो कुर्सीको गरिमालाई जोगाउनु चाँहि पर्छ । यदि कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने, त्यो कुर्सीको महत्त्वलाई बुझ्न सकिन्न भने त्यस्तो व्यक्ति कुर्सीमा बस्न लायक हुँदैन र हामीले भनिराखेका छौँ – तत्काल उहाँले निकास दिनुपर्छ भनिरहेका छौँ । त्यो भनेको राजीनामा हो । आज नेपालमा चाँहि सदनदेखि सडकसम्म यो कुरा उठिरहेको छ । विश्वले के भनेको होला रु आज प्रश्न उठिरहेको छ । गैरसांसदहरूलाई सदनमा राखेर विधेयकहरू ल्याइन्छन् ।’

सांसद श्रेष्ठले गैरसांसदहरूलाई सांसद भनेर संसदमा राखिन्छ भने त्यसले त्यो संसदको र संविधानको रक्षा हुन्छ कि हुँदैन रु भनेर प्रश्नसमेत गर्नुभयो । उहाँले संविधान विपरीत, संसदको मर्यादा विपरीत आफ्नो दलले कारबाही गरेका १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेसम्म राष्ट्रिय सभा पनि चल्न दिने अवस्थामा आफ्नो पार्टी नरहेको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : ५ आश्विन २०७८ मंगलबार ००:००  २ : २८ बजे