४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपालको साथ छोडेका १० नेता प्रचण्डको सारथी रहेको ओलीको आरोप



काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको साथ छोडेर एमालेमै रहेका १० नेता ‘पुष्पकमल दाहाल प्रचण्ड’ को सारथी रहेको आरोप लगाएका छन् । एमाले स्थायी कमिटीले सोमबार पारित गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले नेपालको साथ छोडेर आफूतिर अर्थात एमालेमै बसेका १० नेतालाई गुटबन्दी गरेको आरोप लगाएका हुन् ।

पार्टी विभाजनमा नेता नेपाललाई साध नदिई एमालेमै रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराईसहितका नेतालाई ओलीले ‘प्रचण्डको सारथी’ भनेका हुन् ।
स्थायी कमिटी बैठकले सोमबार राजनीति, विधान र सांगठनिक प्रतिवेदन पारित गरेको थियो । तर त्यसमा १० नेताको असन्तुष्टि सम्बोधन भएन ।
नेपालको साथ छोडेर एमालेमै रहेका नेताहरुले संसद विघटन गलत रहेको र त्यसकै कारण पार्टीमा समस्या आएको बताएका छन् र त्यसलाई औपचारिक रुपमा गलत स्वीकार गर्नु पर्ने माग गरेका छन् । तर ओलीले सो कुराको सम्बोधन गरेका छैनन् । ओलीले नेताहरुको सुझाव र चासोबारे केन्द्रीय कमिटी र त्यसपछि स्थायी कमिटीमा छलफल गर्ने आश्वासन भने दिएका छन् ।
स्थायी कमिटी बैठकमा १० नेताले फरक मत राखे पनि तत्काललाई सम्बोधन भने भएको छैन । उनीहरुको फरक मत संगठनात्मक प्रस्ताव र विधान संशोधन पनि कायम छ । तर सम्बोधन भएको छैन ।
एमालेको केन्द्रीय कमिटी बैठक असोज ८ र ९ गते बस्ने छ । एमालेको पहिलो विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म हुँदैछ ।

प्रकाशित मिति : ५ आश्विन २०७८ मंगलबार ००:००  २ : ०६ बजे