४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेकपा (एस) पार्टीको धादिङबेसीमा कार्यालय स्थापना



धादिङ ।
नेकपा (एकिकृत समाजवादी) पार्टीले जिल्ला कमिटि धादिङको कार्यालय संचालनमा ल्याएको छ । सदरमुकाम धादिङबेसीस्थित पुछारबजारमा स्थापना गरिएको पार्टी कार्यालय सोमबारबाट औपचारिक रुपमा संचालनमा ल्याएको हो ।

पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एस) का केन्द्रिय सदस्य एंव् केन्द्रिय कार्यालय सचिव गंगालाल तुलाधरले केपी ओली नेतृत्वको एमालेमा सुधारको संकेत नदेखिएपछि अर्को पार्टी गठन गर्नुपरेको बताए ।

‘पार्टी अर्को बनाउने हाम्रो चाहना थिएन, हामीले शुरुदेखि नै एकता हाम्रो चाहना हो भनेका थियौं । बाध्यकारी परिस्थितिमा मात्र विभाजन रोज्छौं भनेका थियौं’ उनले भने, ‘अन्तिमसम्म केपी ओलीले गर्ने व्यवहार हेर्छौं भनेका थियौं । उहाँहरुको सुधारको व्यवहार देखिएन ।’

एमालेमा सुधारको अवस्था नदेखिएकै कारण आफ्नो रगत पसिना भिजेको पार्टी नेकपा एमाले छाड्नुपरेको नेकपा (एस) केन्द्रिय सदस्य गुरुप्रसाद बुर्लाकोटीले बताए । ‘हाम्रो भर्भराउँदो बैंसहरु हामीले पार्टी बनाउन खर्च ग¥यौं, पार्टीका नेताहरुको सिंगो जीवनको आधाआधी समय पार्टी बनाउन खर्च भएको छ, तर हामी बस्न पाएनौं’ बुर्लाकोटीले भने ।

नेकपा (एस) पार्टीले आजै नीलकण्ठ नगर कमिटी गठन गरेको छ । शिवनीधि खनाल इन्चार्ज, शिवराज सापकोटा सहइन्चार्ज चुनिएका छन् भने नगर कमिटीको संयोजकमा कुलमान वि.क., सह संयोजकमा दामोदर अर्याल र सचिवमा शान्तविक्रम बानियाँ रहेका छन् । नगरपालिका भित्रका १४ वटै वडाबाट समेटेर ६१ सदस्यीय नगर कमिटी गठन गरिएको जिल्ला सचिव सुवास खतिवडाले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७८ सोमबार ००:००  ८ : ५१ बजे