४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

यही हप्ता सरकारमा जाँदैछौँः अध्यक्ष नेपाल



कास्की ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यही हप्तामा पार्टी सरकारमा सहभागी हुने बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले आज आइतवार पोखरामा आयोजना गरेको गणतन्त्र एवम् संविधान रक्षाका निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलामा उहाँले पार्टीका तर्फबाट केन्द्रीय सरकारमा मन्त्री पठाइने जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले आउँदो चुनावसम्म अहिलेको पाँच दलीय गठबन्धनलाई कायमै राखिनेसमेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, विगतको सरकारले जनताका पीडालाई राम्रोसँग सम्बोधन गरेन । अहिलेको गठबन्धनको सरकारले विगतका गल्तीलाई दोहोर्‍याउनु हुँदैन । गठबन्धन बलियो बनाउँदै जनताको सेवामा लाग्नु पर्दछ ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चको फैसला ऐतिहासिक र नेपालको इतिहासमा संविधानवादको कोशेढुङ्गाका रूपमा रहने उल्लेख गर्दै उहाँले सर्वोच्चले संविधानको सही व्याख्या गरेको बताउनुभयो । संविधान मिच्ने छैनौँ, यसको पालना गर्नेछौँ तथा संविधानको मूल्य र मान्यताको रक्षा गर्दै यसको मर्म र भावनाको सही प्रयोग हाम्रो पार्टीले गर्नेछ, अध्यक्ष नेपालले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा पार्टीका गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ, प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, प्रतिनिधि सभा सांसद कृष्णकुमार श्रेष्ठ, पार्टीका जिल्ला अध्यक्ष धनराज आचार्य, सचिव होमबहादुर नेपाली, उपसचिव पूर्ण लामालगायतले पार्टी सङ्गठन विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७८ आइतबार ००:००  ७ : ४३ बजे