४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नेपाल कम्युनिष्ट पार्टी प्यूठानका संस्थापक गुरुङको निधन



प्युठान ।
नेपाल कम्युनिष्ट पार्टी प्यूठानका संस्थापक खगुलाल गुरुङको निधन भएको छ । १०४ वर्षीय गुरुङको आइतबार निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्ताल बुटवलमा उनको उपचारका क्रममा निधन भएको हो ।

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछिका हरेक राजनीतिक आन्दोलनहरुमा खगुलालले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताएका छन् । खगुलालसंग आफ्नो सात दशक पुरानो सम्बन्ध भएको बताउँदै महामन्त्री सिंहले एक सच्चा, निडर, आदर्श कम्युनिष्ट विचार बोकेका निःस्वार्थ र अविचलित योद्धाका रुपमा स्मरण गरेका छन् ।

२००७ सालको राणाविरोधी संघर्षमा स्वतन्त्रताका सेनानी खगुलाल २०१० सालमा प्यूठानमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने ७ जनामध्ये एक थिए ।

नेपालकै सबैभन्दा जेठा कम्युनिष्ट नेता गुरुङ मुक्ति सेनाका कमान्डर थिए । उनकै नेतृत्वमा मुक्ति सेनाले सल्यान कब्जा गरेको थियो ।

त्यसैगरी, प्यूठानको नारीकोटमा २०११ फागुन २४मा चलेको किसान आन्दोलनमा खगुलालले महत्वपूर्ण भूमिका निर्बाह गरेका थिए ।

१९७५ साल भदौ २५ गते तत्कालीन बाग्लुङ जिल्लाको खरामा जन्मेका खगुलालले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट ३५ वर्षको उमेरमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

गतवर्ष लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश प्रमुख जनसेवा पदक ९ख०बाट गुरुङलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७८ आइतबार ००:००  २ : ५७ बजे