४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

एमसिसीका कारण गठबन्धन टुट्दैनः प्रचण्ड




जनकपुर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीका कारण गठबन्धन नटुट्ने बताएका छन्। शनिबार जनकपुरमा माओवादी केन्द्र प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रम समापनपछि आयोजित पत्रकार सम्मेलनमा उनले एमसिसीभन्दा गठबन्धन महत्वपूर्ण रहेको बताए। प्रचण्डले सरकारले पूर्णता पाउन नसकेको विषयलाई बहाना बनाएर गठबन्धन तोड्नकै लागि गठबन्धनमा असन्तुष्टि रहेको भनी प्रतिगामी शक्ति मिलेर भ्रम सृजना गरिरहेको आरोप लगाए।
‘प्रतिगामी शक्तिले रोक्न खोज्दा खोज्दै बनेको गठबन्धन संविधानको रक्षा, राष्ट्रको रक्षाका लागि बनेकाले ढुक्क भएर बस्नुस्। गठबन्धनमा कुनै किसिमको विवाद छैन। यो गठबन्धन टुट्दैन,’ उनले भने।

प्रचण्डले पहिलेको एमसिसी प्रस्तावमा रहेका विषयहरू बिगारिएकाले यसलाई बिना परिमार्जन संसदबाट पारित गर्न नमिल्ने बताए।

यसअघि शेरबहादुर देउवा नेतृत्वकै सरकारको पालामा भएको एमसिसी सम्झौतामा प्रतिनिधिसभाबाट पारित गर्नुपर्ने प्रावधान नरहेको र ओली सरकारको पालामा अर्थमन्त्रीले संसदबाट अनुमोदन गर्ने समझौता गरेपछि विवाद चर्किएको बताए। ‘अमेरिकी संसदमा केही मन्त्रीहरूले यो एमसिसी इण्डो प्यासिफिक स्ट्र्याटिजीको अंग हो भन्ने विषय चर्चामा आएपछि विवाद झन् चर्कियो,’ उनले थपे।

उनले प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै असोज ४ गते भित्रै सरकारले पूर्णता पाउने दाबी गरे।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  ५ : ५३ बजे