५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कठिन मोडमा भए पनि छिट्टै विश्वासको मत लिन्छु : मुख्यमन्त्री शाक्य



सिन्धुली ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो नेतृत्वको सरकार साह्रै अप्ठ्यारोमा पुगेको भए पनि कानुनअनुसार छिट्टै विश्वासको मत लिने बताएकी छन्।

शनिबार नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाक्यले पाटी फुटेका कारण आफ्नो नेतृत्वको बागमती प्रदेश सरकार अप्ठ्यारो परिस्थितिमा परेको बताएकी हुन्।

‘अहिले चुनौती छ, अप्ठ्यारो छ। एमालेभित्र आएको समस्याले आज प्रदेश सरकारमा काम गर्न समस्या छ।’ उनले बाध्यताले मुख्यमन्त्रीको पद सम्हाल्नुपरेको बताइन्। उनले आफ्नो नेतृत्वको बागमती प्रदेश सरकार अल्पमत परे पनि विश्वासको मत लिने बताइन्।

‘अहिले पार्टी फुटेपछि माधवकुमार कमरेडको पार्टीमा प्रदेशका १३ जना प्रदेश सांसद जानुभएको छ। तर, हामीले मन्त्रिपरिषद् विस्तार गरेर काम गरिरहेका छौँ। अल्पमतमा भएकाले विश्वासको मत लिनैपर्छ। विश्वासको मत प्राप्त नभए हामीले सहजै रूपमा छोड्नुपर्छ’ उनले भनिन्।

उनले फुट्ले पार्टीमा शक्ति पैदा नहुने भन्दै पार्टी फुटाएर गएका माधव कुमार नेपाल लगाएतलाई पार्टीमै एकजुट हुन आग्रहसमेत गरिन्। ‘मैले बराम्बर अनुरोध गरिरहेको छु। पार्टी जति एकजुट हुन्छ त्यती नै सुढृढ हुन्छ। त्यसो हुनाले सबैलाई एकजुट हुनुपर्छ’उनले भनिन्।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  २ : ३४ बजे