५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

एमसीसी आवश्यक छ, जसरी पनि पास गराउनुपर्छः मन्त्री कार्की



सुनसरी ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताउनुभएको छ । आज शुक्रवार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुग्नुभएका मन्त्री कार्कीले एमसीसी देशको विकास र समृद्धिका लागि आवश्यक रहेको बताउनुभएको हो । उहाँले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भए पनि संसदबाट पास गराउनुपर्ने बताउनुभयो । उहाँले एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने उल्लेख गर्नुभयो । एमसीसी संसदबाट पास गराउनका लागि सबैबीच सहमतिको खाँचो रहेको मन्त्री कार्कीले बताउनुभयो ।

मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद् बैठकले बजेटको विषय अघि बढाउने बताउनुभयो । संसदभित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै उहाँले केही दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गर्नुभयो । कोशी टप्पु वन्यजन्तु आरक्षमा आज स्थापना भएको कार्यालयले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै संरक्षण तथा सम्भाव्यता अध्ययनका विषयमा काम गर्ने बताइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८ शुक्रबार ००:००  ६ : ४६ बजे