५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

भीम रावल : स्वार्थका लागि नभएर देश र जनताका लागि राजनीति गरेको हुँ



डोटी ।
नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का केन्द्रीय उपाध्यक्ष एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री डा।भीमबहादुर रावलले आफूले देश र जनताको सेवाका लागि राजनीति गरेको बताउनु भएको छ ।

गृह जिल्ला अछाम जाने क्रममा डोटीमा रहेका एमाले नेता कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उहाँले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ुम स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन, पार्टी फुट्नु आफैँमा दुःखद भएको छ तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन दश बुँदे सहमतिको पूर्ण रुपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागि परेको छु ।

राजनीति गर्दा आफ्नो व्यक्तित्व विकास भएको भए पनि देश र जनतालाई शिरोपर गरेर आफूले राजनीति गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, मैले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत हो । म पार्टी फुटाउने नभइ पार्टी एकतालाई जोड दिनतर्फ अग्रसर भएको छु ।साथै उहाँले माधवकुमार नेपालको पार्टीको विधान मस्यौदा तयार गर्दा आफू रहेको भन्ने कुराको पनि खण्डन गर्दै त्यस्तो हल्लामा कुनै सत्यता नरहेको दाबी गर्नुभयो ।

नेता रावलले अहिलेको जटिल परिस्थितिमा नेकपा एमालेप्रति चिन्ता व्यक्त गर्ने सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले पार्टी एकता प्रक्रियालाई अझै सशक्त बनाउन सबैलाई एकताको सन्देश दिन आग्रह समेत गर्नु भएको छ ।

साथै उहाँले अहिलेको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने र दल फुट्नु भनेको नै लोकतन्त्र कमजोर हुने कुराको जिकिर गर्नुभयो । पद प्राप्तिका लागि केही साथीहरुले नयाँ दल खोलेको भए पनि अन्ततः चोइटिएर गएका साथीहरु पनि पुनः पुरानै घर नेकपा एमालेमा आउने उहाँको दाबी थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८ बिहिबार ००:००  १ : ०१ बजे