५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

संविधान संशोधनका लागि सडक संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छः प्रचण्ड



काठमाण्डौ ।

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताउनु भएको छ । अध्यक्ष दाहालले पार्टीले अहिलेसम्म हासिल गरेको उपलब्धि युद्ध वा सडक संघर्षकै प्रतिफल भएको उल्लेख गर्दै संविधान संशोधनका लागि पनि सडक संघर्षमा जानुपर्ने अवस्था आउनेतर्फ चिन्तनमनन् गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भयो । नेता पोष्टबहादुर बोगटीको स्मृतिमा बुधबार पार्टीले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले विकृत बुर्जुवा प्रणाली बदल्नका निम्ति पनि संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने तर्क समेत गर्नु भयो ।

अध्यक्ष दाहालले संविधान संशोधनका लागि सकेसम्म राजनीतिक दलहरुबीचको संवाद, सहमती र समझदारीमै जोड दिने पनि स्पष्ट पार्नु भयो । निर्वाचन प्रणाली, शासकीय स्वरुप र संघीयताका विषयमा संशोधन गरेर जाने बाटो संविधानले खुला गरेकाले आफूहरुले संविधान जारी गरेदेखि नै संविधान संशोधनको विषयलाई बढी जोड दिएर उठान गर्ने गरेको पनि स्मरण गराउनु भयो । अध्यक्ष दाहालले आफू २ पटक प्रधानमन्त्री हुँदा संविधान संशोधनका लागि संसदमा प्रस्ताव नै लगेको पनि बताउनु भयो । तर प्रतिगामी र दक्षिणपन्थी शक्तिहरुले त्यो प्रस्ताव संसदमा छलफल गर्न समेत नदिएको अध्यक्ष दाहालको गुनासो छ ।

पार्टी बनाउनेभन्दा गुट बनाउने धन्दा पनि पार्टी भित्रै देखिने अवस्था आएको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यस्ता प्रवृतिको विरुद्ध जुधेर मात्रै नेता पोष्टबहादुर बोगटीहरुले देश र जनताको मुक्तिको निम्ति देखेका सपनालाई पूरा गर्न सकिने पनि बताउनु भयो । अध्यक्ष दाहालले नेपाल राष्ट्र र नेपाली जनताको रुपान्तरणमा नेता बोगटीले खेलेको भूमिका सदा स्मरणीय रहिरहने पनि बताउनु भयो ।

प्रकाशित मिति : ३० भाद्र २०७८ बुधबार ००:००  २ : ३६ बजे