५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा



काठमाण्डौ ।

रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ। विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तीय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो । अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकाले आईसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्यान्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले बताउनुभयो ।

इञ्जिनियर अधिकारीका अनुसार अब टर्मिनल बिल्डिङ भित्रको फन्सिलिङसँग सम्बन्धित कामहरु र फर्निचर फर्निसिङ्सका कामहरु मुख्य बाँकी छन् । उहाँले क्यालिब्रेशन फ्लाइटका लागि जडान गरेका उपकरणहरुलाई सही सूचना दिने तरिकाले सेट गर्ने कामहरु कोरोना भाइरसका कारण थाइल्यान्ड सरकारले प्राविधिकलाई आउन नदिएकोले अड्किएको बताउनु भयो । प्राविधिक कामहरुलाई सम्पन्न गर्नको लागि सरकारले थाइल्यान्ड सरकारसँग कुटनीतिक पहल थालेको पनि प्रमुख इञ्जिनियर अधिकारीले बताउनुभयो ।

अधिकारीले भन्नुभयो, ‘आयोजना अन्तर्गतका मुख्य भौतिक संरचना निर्माणको काम करिब सम्पन्न भइसकेको छ । तर, हामीसँग केही साना प्राविधिक कामहरु बाँकी छन् । कोभिड–१९ को कारणले गर्दा थाइल्यान्ड सरकारको हेल्थ प्रोटोकल छ । आफ्ना प्राविधिकलाई विदेश जान अनुमति नदिएको कारणले क्यालिब्रेशन फ्लाइटको मिति यकिन गर्न सकिएको छैन् । सामान्यतया हेर्दा आयोजनाको कामहरु टुङ्गिदो क्रममा हो । यसले गर्दा आयोजना सम्पन्न नभएको अवस्था छ । अधिकारीले अहिले बनिरहेको टर्मिनल बिल्डिङ रिलेटिभ रुपमा सानो भएको सरकारको अनुमान रहेकाले यसलाई ठूलो बनाउनुपर्ने विषयमा अध्ययन भइरहेको बताउनुभयो ।

उहाँले यो टर्मिनल बिल्डिङले ४ सय सेवाग्राहीलाई मात्र सेवा दिनसक्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो पर्याप्त नहुने भन्दै नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ बनाउने विषयमा अध्ययन गरिरहेको बताउनुभयो । उहाँले आवश्यक पर्ने प्राविधिक जनशक्ति ल्याउने हो भने हप्ता १० दिनमै सबै काम सकिने बताउनुभयो।

अधिकारीले विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसक्दा क्यालिब्रेशन फ्लाइट अनिश्चित बनेको बताउनुभयो । विमानस्थलमा क्यालिब्रेशन फ्लाइट भएको करिब तीन महिनापछि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जनाइएको छ । राडर र फ्लाइट प्रणाली ९धावन र आकाश० को तथ्याङ्क जाँच गर्न क्यालिब्रेशन फ्लाइट गरिन्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८ मंगलबार ००:००  १ : ३७ बजे