५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अनेरास्ववियू (क्रान्तिकारी) कपिलवस्तुको अध्यक्षमा खनाल



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) कपिलवस्तुको अध्यक्षमा हरिशचन्द्र खनाल चयन हुनुभएको छ । सोमबार तौलिहवामा भएको २० औं जिल्ला सम्मेलनबाट खनाल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

०७५ जेष्ठ ३ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएपश्चात बनेको अनेरास्ववियूमा अनेरास्ववियू (क्रान्तिकारी) ले जिल्लाको सहसंयोजक पाएको थियो । सहसंयोजकमा दयाराम पौडेल रहनुभएको थियो ।

पुस ५ मा तत्कालिन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपश्चात नेकपा विभाजन भएको थियो । उक्त समय पौडेल एमाले तिर लागे पछि अनेरास्ववियू पुर्नगठन गरी दिपक अनुरागी संयोजक र हरिशचन्द्र खनाल सह संयोजक रहनुभएको थियो ।

फेरि अदालतले फाल्गुण २३ मा एमाले र माओवादी केन्द्रलाई पूर्ववत रुपमा फर्काएपछि खनालले अनेरास्ववियू (क्रान्तिकारी) कपिलवस्तुको संयोजक सम्हाल्दै आउनुभएको थियो ।

अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन नजिकिदै जादा कपिलवस्तुमा पनि जिल्ला सम्मेलन भएको हो ।

अनेरास्ववियू (क्रान्तिकारी) कपिलवस्तुको अध्यक्षमा खनालसंगै उपाध्यक्ष दोयमा विजय पौडेल ‘आभाष’, अर्चिता पाण्डे, कोषाध्यक्षमा कमल बञ्जाडे, सहसचिवमा सुमन घिमिरे, सुजता बरुण, गोरखनाथ यादवसहित ४५ सदस्यिय जिल्ला कमिटी घोषणा भएको छ ।

सचिवका आकांक्षी बढी भएको कारण कारण पहिलो बैठकले चयन गर्ने गरी जिल्ला सम्मेलन सकिएको नवनिर्वाचित अध्यक्ष खनालले बताउनुभयो ।

सम्मेलनको उद्घाटनशत्रमा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य चक्रपाणी खनाल, पार्टीका केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय, अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष पञ्चा सिंह, केन्द्रीय सचिव नारायण खनाल, माओवादी नेता रामलौटन तिवारी, एकीकृत समाजवादी निकट अनेरास्ववियूका जिल्ला संयोजक दिपक अनुरागी, नेकपा निकट अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष विज्ञान क्षेत्री, सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुसील खत्री लगायतले मतव्य दिदैं सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

अनेरास्ववियू (क्रान्तिकारी) कपिलवस्तुका नेता पुस्कर भुसालको सञ्चालनमा भएको उद्घाटन सस्त्रको शुभकामना मन्तव्य विद्यार्थी नेता जेनिस शर्माले राख्नुभएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७८ मंगलबार ००:००  ७ : ४४ बजे