४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

संसद् कहिले चल्छ भनेर ओलीजीलाई सोध्नुः प्रधानमन्त्री देउवा



काठमाण्डौ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठक सुरु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भएको बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउन प्रत्यक्ष संलग्न भएको भन्दै आइतवारको प्रतिनिधि सभा बैठक पनि चल्न दिएन । संसद् बैठक लगातार अवरोध भइरहेका बेला प्रधानमन्त्री देउवाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संसद् बैठक सुरु कहिले हुन्छ भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह गर्नुभयो । सञ्चारकर्मीहरूले ‘प्रधानमन्त्रीज्यू, यसरी कति दिन संसद् चलाउनु हुन्छ रु’ भनी प्रश्न गरेका थिए । उहाँले त्यसको जवाफ दिँदै सङ्क्षेपमा भन्नुभयो, ‘ओलीजीलाई सोध्नु’ । एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निष्कासन गरेका सांसदलाई संसद् बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने अडान लिँदै आएको छ ।
आइतवारको बैठकमा पनि अवरोध भएपछि प्रतिनिधि सभाको अर्को बैठक आउँदो भदौ २९ गते मङ्गलवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८ आइतबार ००:००  ५ : ०९ बजे