४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रोहित चम्किदा पपुवा न्युगिनीलाई २ सय ३४ रनको उच्च लक्ष्य




काठमाडौं । रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीलाई उच्च लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पपुवा न्युगिनीलाई जितका लागि २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३ बल खेल्न बाँकी छदा २३३ रनमा अलआउट भयो।

नेपालका लागि रोहितकुमार पौडेल र करण केसीले उत्कृष्ट ब्याटिङ गरे। रोहितले ८६ रन जोडे। उनले १२३ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

करणले २६ बलमा ४२ रनको योगदान गरे। सातौं विकेटको रूपमा ४९औं ओभरमा आउट हुनुअघि उनले २६ बलमा २ चौका र ४ छक्का प्रहार गरे।

करण आउट भए लगत्तैको बलमा रोहित पनि आउट हुन पुगेका थिए। दुवै जनालाई चाड सोपरले आउट गरे। उनले तीन विकेट लिए।

त्यसअघि नेपालले खराब ओपनिङ गरेको थियो। ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल ३(३ रनमै आउट भएपछि नेपालको इनिङ्ग्स सुरुमै संकटमा परेको थियो।

त्यसपछि रोहित र कप्तान ज्ञानेन्द्र मल्लको जोडीले नेपालको इनिङ उकासे। रोहितसँग तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका ज्ञानेन्द्रले ४५ रन जोडे। उनले ७० बलमा ३ चौका र २ छक्का हिर्काए।

त्यसपछि विनोद भण्डारी १७ रनमा रनआउटको सिकार बने। कुशल मल्ल १ रनमै आउट हुँदा सोमपाल कामीले ११ रन जोडे। विक्रम शोव १ रनमा आउट हुँदा सुसन भारी शून्यमा आउट भए।

यसअघि नेपालले पिएनजीविरुद्धको पहिलो एकदिवसीय खेलमा २ विकेटको जित निकालेको थियो।

नेपालले आइसिसी विश्वकप लिग(२ को त्रिकोणात्मक सिरिजको तयारीका क्रममा पिएनजीसँग एकदिवसीय सिरिज खेलेको हो।

नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ।

सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई(दुई खेल खेल्नेछ।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् ९युएई० रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई(दुईं खेल खेलिसकेको छ।

प्रकाशित मिति : २५ भाद्र २०७८ शुक्रबार ००:००  ७ : ३९ बजे