४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आवधिक योजना निर्माणमा तात्यो वाणगंगाः सांसद पन्थी भन्छन् ‘योजनाबद्ध काम गरौं’



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका नगर विकासको लागि आवधिक योजना निर्माणमा तातेको छ । त्यसको लागि नगरले शुक्रबार नगर सभाहलमा प्रथम नगर विकास आवधिक योजना निर्माण सम्बन्धि छलफल सुरु गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्य र पूर्वमुख्य सचिव सोमलाल सुवेदीको विशेष उपस्थिति र सरोकारवालाको सहभागितामा छलफल सुरु भएको छ ।

प्रमुख अतिथि विष्णु पन्थीले योजना विनाको विकासको अर्थ नहुने बताउनु भएको छ । नगरपालिकाले पाँच बर्षसम्म विकासको प्राथमिकताको सुची तयार गरेर हरेक काम योजनाका साथ अगाडी बढाउनुपर्ने उहाँको भनाई छ । नगरभित्र विगतमा तत्कालिन आवश्यकतालाई हेरेर विकास निर्माणका काम गरिएपनि अवभने योजनाका साथ गरिने विकास निर्माण दिगो हुने लुम्बिनी प्रदेश सांसद पन्थीले बताउनुभयो ।

अहिले मुलुकभर गरिएका विकास निर्माणमा गरिएको लगानी दिगो नभएको उहाँले स्पष्ट पार्नुभयो । गरिब राष्ट्रहरुसंग श्रोत साधन तथा पूजीको अभाव हुने भएकाले विकास निर्माणमा गरिएको लगानी दिर्घकालिन हुनुपर्नेमा जोडदिनुभयो । पछिल्लो समय योजना बिनाका विकास निर्माण दिगो नभएको उदाहरण दिदै सांसद पन्थीले भौतिक पूर्वाधार तर्फ हरेक वर्ष बनाउने र भत्काउने कामले लगानी खेर गइरहेको समेत बताउनुभयो ।

वाणगंगा नगरपालिकाले प्रथम नगर विकास आवधिक योजना निर्माणको कार्य शुरुवात गरेर राम्रो कामको थालनी गरेको बताउदै सांसद पन्थीले नगरले बनाउने आवधिक योजना साझा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भोलीको दिनमा जुनसुकै जनप्रतिनिधि आएपनि आवधिक योजनाले प्राथमिकता गरेका योजनाहरु कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।

नगरले विकासका आधारभूत आवश्यकताहरुको चरण पार गरिसकेकाले अवका दिनमा योजनाका साथ सवै क्षेत्रको विकासलाई सन्तुलित तरिकाले अघि बढाउनुपर्नेमा बताउनुभयो । उहाँले वाणगंगा नगरपालिकासंग नजिक रहेका बुद्ध जन्मस्थल लुम्बिनी, अन्तराष्ट्रिय विमान स्थल, तिलौराकोट, जगदिशपुर लगाएतका पर्यटकीय स्थलको गन्तब्यलाई नगर संग जोडर योजना बनाउनु पर्ने बताउनुभयो । उहाँले वाणगंगा नगरपालिका हरेक हिसावले उत्कृष्ट, श्रोत साधन र भौगोलिक हिसावले पनि केन्द्रमा रहेकाले यसले चाडै नै आर्थिक सम्बृद्धि हासिल गर्ने बताउनुभयो ।

शुक्रबार सुरु भएको छलफलमा विशेष प्रस्तुति दिँदै पूर्व मुख्य सचिव सुवेदीले योजनाको प्राथमिकिकरण गरेर अगाडी बढ्न सुझाउनु भयो । उहाँले देश विदेशमा भएका स्थानीय सरकारका अभ्यासहरुको बारेमा जानकारी गराउँदै नगरमा भएका मुख्य श्रोतको पहिचान गर्न उहाँको आग्रह छ । निश्चित योजना विना कुनै पनि कार्य सम्पादन हुन नसक्ने भन्दै उहाँले वित्तिय श्रोत, संस्थागत व्यवस्था र जनशक्ति, समन्वय र सहकार्य, नगरपालिकाको अवस्था र वस्तुस्थितिलाई बुझेर योजना बनाउन सुझाउनु भयो ।

मुलुकमा तिन तहको सरकार भएपनि स्थानीय सरकारले अधिकार नपाएको उहाँको भनाई छ । संघ, प्रदेश र स्थानीय सरकारले गर्ने के हो भन्ने निर्दिष्ट नभएका कारण समस्या भएको उहाँले बताउनु भयो । जनप्रतिनिधि र कर्मचारीको सुमधुर सम्बन्धबाट मात्र नगरको विकास हुने उहाँको भनाई छ । उहाँले नगरको आम्दानीको श्रोतलाई बुझेर शहरीकरणको दिसामा अगाडी बढ्नु पर्ने बताउनु भयो ।

संविधान सभा सदस्य विश्राम थारुले पनि नगरमा भए गरेका विकासका काम दीर्घकालिन महत्व राख्ने गरी नभएको बताउनु भयो । उहाँले हरेक काम गर्दा योजना बनाएर मात्र सुरु गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका भरत कुमार कार्की, कांग्रेस नगर कार्यबाहक सभापति विष्णु थापा, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डे, नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी, रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपाने लगायतले बोल्नु भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालको स्वागत र शिक्षा अधिकृत खिम बहादुर जिसीको संचालनमा सम्पन्न कार्यक्रममा नगर प्रमुख मंगल प्रसाद थारुले पूर्व मुख्य सचिव सोमलाल सुवेदीको सुझाव अनुसार अगाडी बढ्ने बताउनु भयो । प्राप्त सुझावपछि आगामी ५ बर्षको योजना बनाउन उहाँले टोल र वडामा गएर सुझाव लिने बताउनु भयो ।

नगर उपप्रमुख चक्रपाणी अर्यालले आफुहरुले शुरुका वर्षहरुमा नगरपालिका र वडातर्फको पूर्वाधार तर्फ ध्यान केन्द्रित गरेर काम गर्ने बातावरण तयार गरेको बताउनुभयो । उहाँले विविध कारण वश आवधिक योजना बनाउन ढिलाई भएपनि प्रदेश र संघीय सरकारका निति नियमले पनि काम गर्न असहज भएको बताउनुभयो ।

प्रकाशित मिति : २५ भाद्र २०७८ शुक्रबार ००:००  ७ : ११ बजे