४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राष्ट्रियसभाको अर्को बैठक भदौ २८ मा



काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०को अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश –२०७८ पेस गरिएको छ।

शुक्रबार बैठक सुरू हुनासाथ एमालेका सांसदहरूले उठेर बैठक अवरूद्ध पारेका थिए। तर एमाले सांसदहरूको अवरोधकाबीच गृहमन्त्री बालकृष्ण खाँणले सो अध्यादेश पेस गरेका हुन्। त्यसैगरी बैठकले संविधानसभा सदस्य जुठबहादुर खड्गी जेबी टुहुरे र अर्का संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ।

जनवादी गायक टुहुरे नेकपा माओवादी केन्द्रबाट संविधानसभा सदस्य थिए भने सञ्चार उद्यमी शेरचन एमालेबाट संविधान सदस्य सदस्य भएका थिए।

सो प्रस्ताव पारित गर्नु अघि एमालेका सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसदहरूलाई संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने जानकारी गराएका थिए।

उनले लोकतन्त्रलाई मास्ने काम, दलीय प्रणालीलाई दललाई कमजोर पार्ने काम सरकार, प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोग मिलेर लागेकाले त्यसको विरोधमा बैठक अवरूद्ध गर्नुपरेको स्पष्ट पारे। एमालेले गत २३ गते बुधबारदेखि सुरू भएको संघीय संसदको दुवै सदन अवरूद्ध पार्दै आएको छ।

राष्ट्रियसभाको अर्को बैठक आगामी भदौ २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८ शुक्रबार ००:००  २ : ३३ बजे