४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सभापति देउवाबाट लोकतन्त्रकै उपहास भयो : रामचन्द्र पौडेल



काठमाडौं ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा विवादबीच नै वडा अधिवेशन सुरू गरिएकोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध गरेका छन्।

जिल्ला सभापति कर्णबहादुर मल्ललगायतको विरोधबीच पनि आज वडा अधिवेशन भइरहेको छ। मल्ल पक्षले अधिवेशनमा भाग लिएका छैनन्।

विवाद समाधान गरेर मात्र अधिवेशन गर्न वरिष्ठ नेता पौडेललगायत उनी पक्षका नेताले बालुवाटार पुगेर शुक्रबार बिहान सभापति देउवाको ध्यानाकर्षण गरे पनि विवादबीच नै अधिवेशन सुरू गरिएको छ।

विवादबीच र जिल्ला कार्यसमितिको असहमतिबीच नै अधिवेशन गराएर प्रशासनिक शक्तिकोसमेत दुरूपयोग सभापतिबाट भएको पौडेलको आरोप छ।

‘कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो,’ पौडेलले भनेका छन्।

पौडेलले पार्टीको निर्वाचनमा यसरी शक्तिको दुरूपयोग हुनु आपत्तिजनक भएको बताएका छन्।

‘पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र( तर व्यवहार अलोकतान्त्रिक१ कांग्रेस पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ। महाधिवेशनको लागि यो शुभसंकेत होइन,’ उनले भनेका छन्।

सभापति देउवा पक्षले भने बागी उम्मेदवारलगायतको क्रियाशील सदस्यता हटाइएको बताएको छ। तलबाट पठाइएका क्रियाशील सदस्यको नाम केन्द्रबाट काटिएको भन्दै डडेल्धुरामा विरोध भइरहेको छ।

प्रकाशित मिति : २५ भाद्र २०७८ शुक्रबार ००:००  १ : ४२ बजे