४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विपन्न परिवारलाई तरुण दल र नेविसंघ कपिलवस्तुको सहयोग



मायादेवी अनलाइन, वाणगंगा ।
बिपी कोइरालाको १०८औँ जन्मजयन्ती तथा तीज पर्वको अवसरमा नेपाल तरुण दल र नेविसंघ कपिलवस्तुले विपन्न परिवारलाई सहयोग प्रदान गरेको छ । नेपाली कांग्रेसका यी दुई भातृ संगठनले बाणगंगा १ बुङ्ची निवासी रामप्रसाद थारुको परिवारलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको हो ।

केही महिना अगाडि रुखबाट खसेर शारिरीक अशक्त भएका थारुको परिवारलाई चामल, नुन, तेल, पिठो, साबुन, सरफ, चवनप्रास, झोला, कापी, कलमसंगै आर्थिक सहयोग गरिएको नेवि संघका क्षेत्रिय सभापति चन्द्रकान्त पोखरेलले जानकारी दिनुभयो ।

थारु रुखबाट खसेपछि उहाँको परिवारमा संकट पर्दै आएको छ । थारुको परिवारलाई सहयोग प्रदान गर्न कांग्रेस नेता सूर्य बरालले विशेष सहयोग गर्नुभएको थियो ।

थारुको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर र दैनिक जीविका चलाउन समेत गाह्रो भएको थाहा पाएपछि आफुहरु सहयोगका लागि अघि बढेको तरुण दल कपिलवस्तुका अध्यक्ष शक्ति सिंह ठकुरीले बताउनुभयो । आफुहरुको सहयोगले परिवारलाई केही राहत महसुस होस् र बालबालिकाको पनि शैक्षिक पक्षमा केही सहयोग मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको उहाँले बताउनुभयो ।

यस्तै नेवि संघका क्षेत्रिय सभापति पोखरेलले आफुहरु सदैव गरिब विपन्नहरुको साहारा बन्दै अगाडि बढ्ने बताउनुभयो । विगतमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिदैं जाने उहाँको भनाई छ । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, तरुण दल क्षेत्र १ का अध्यक्ष तिलक थापा, युवा नेताहरु दिनेश क्षेत्री, ईश्वर थापा, सरोज सेन लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८ शुक्रबार ००:००  ६ : ३० बजे